चितवनका बौद्ध धर्मावलम्बीहरलाई घरमै पूजापाठ गरेर बुद्ध जयन्ती मनाउन आह्वान

एटुजेड समाचार

चितवन – करिब पाँच महिनादेखि फैलिएको कोरोना भाइरसका कारण कुनै पनि देशमा ठूला कार्यक्रम तथा चाडपर्व मनाउन पाएको छैन। नेपालमा पनि चैतपछिका सबै पर्व कोरोना भाइरस रोकथाम गर्न सरकारले बन्दाबन्दी सुरू गरेपछि पूर्णरूपमा प्रभावित बनेको छ। सरकारले पछिल्लो समय जारी गरेको लकडाउन यही बैशाख २५ गते सकिँदैछ। तर, सोही दिन परेको यसवर्षको बुद्ध जयन्ती पनि लकडाउनकै कारण भव्य कार्यक्रम गरेर मनाउनबाट बञ्चित भएको छ।

बौद्ध धर्मावलम्बीहरूको महान पर्वको रूपमा मनाउँदै आएको बुद्ध जयन्तीको यसवर्ष २५६४औँ संस्करण हो। तर, लकडाउनका कारण विगतका वर्षहरूमा जस्तो धुमधामका साथ कार्यक्रम गर्न नपाइने भएपछि गुम्बाहरूमा सामान्य पूजाआजा गरेर विधि पुर्‍याउने काममा मात्रै सीमित हुने भएको छ। चितवनको भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा पनि यसवर्ष बुद्ध जयन्तीका दिन सामान्य पूजाबाहेक कुनै पनि कार्यक्रम नहुने बौद्ध धर्म सेवा समिति चितवनकी अध्यक्ष बिमला गुरूङले जानकारी दिइन्।

सदाझैँ गुम्बामा भेला भएर भव्यताका साथ कार्यक्रम गर्ने र पूजापाठमा सहभागी हुन नपाए पनि विधि पुर्‍याएर घरघरमै भगवान गौतम बुद्धको पूजा गरेर पर्व मनाउन समितिले चितवनवासी बौद्ध धर्मावलम्बीहरूलाई आव्हान गरेको छ। ‘यस वर्ष परिस्थितिले गर्दा कार्यक्रम गर्न नपाए पनि आगामी वर्ष फेरि पहिलेझैँ धुमधामका साथ कार्यक्रम गर्नेछौँ,’ अध्यक्ष गुरूङले भनिन्, ‘त्यसैले यसपटक परिस्थितिलाई बुझेर सरकारको निर्देशनको पालना गरेर आ–आफ्नै घरमा वा नजिकको गुम्बामा सामाजिक दुरी कायम गरेर सामान्य पूजापाठ मात्रै गर्न हामीले आव्हान गरेका छौँ।’

लकडाउनका बेला घरमै बसेर सुरक्षित उपाय अपनाउन पनि उनले आग्रह गरिन्। ‘पर्व भन्ने कुरा ज्यान रहे आउँदा वर्षहरूमा पनि मनाउन पाइन्छ,’ उनले भनिन्, ‘त्यसैले सबैभन्दा ठूलो धन भनेको आफ्नै स्वास्थ्य हो, स्वास्थ्यको ख्याल राखौँ, लकडाउनको पूर्ण पालना गरौँ।’ बुद्ध जयन्ती मनाउने वातावरण नभए पनि गुम्बा परिसरमा भने विगत केही हप्तादेखि बुद्ध टोलको अगुवाइमा नियमित सरसफाइ गर्दै आइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू