ओलीलाई खनालको सुझाव: प्रधानमन्त्रीका कुर्सीमा हामी पनि पुगिसकेका छौं, आवेगमा नआउनुस्

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष शर्मा केपी ओलीलाई पार्टी निर्णय मानेर अगाडि बढ्न सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आफूले प्रधानमन्त्रीलाई आवेग र उत्तेजनामा नआउन सुझाव समेत दिएको वरिष्ठ नेता खनालले बताए।

‘पार्टी सर्वोपरी संस्था हो। पार्टीलाई सबैले मान्नुपर्छ। हामी सबै यो ठाउँमा आइपुगेको पार्टीकै कारणले हो। त्यसकारण पार्टीका निर्णयहरूलाई सबैले सर्वोपरी मान्नुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’खनालले भने,’पार्टीलाई सर्वोपरी मानेर मात्रै हामी अग्रगतिमा जान सक्छौं। हामीले कुनै प्रगति गर्नुछ भने पार्टीका निर्णय र मार्गनिर्देशनलाई मानेर मात्रै गर्न सक्छौं। त्यसैले पार्टीलाई सम्मान गर्नुस् पार्टीका निर्णयहरूलाई सम्मान गर्नुस् भनेर मैले सुझाव दिएको छु।’

भेटमा प्रधानमन्त्री ओली चिन्तित र तनावमा रहेको आफूले पाएको समेत खनालले बताए। ‘मलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा अलि उद्धेलित हुनुहुन्थ्यो। तर मैले यसरी उत्तेजनामा आउनु हुँदैन संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेर समेत भनेको छु,’खनालले भने,’प्रधानमन्त्रीका कुर्सीमा हामी धेरै मान्छे पुगिसकेका छौं। सबैका आ-आफ्ना अनुभव छन्। तपाईंका पनि आफ्नै अनुभव छन्। त्यसकारण पार्टीले गरेको निर्णयलाई सम्मान गर्नुपर्छ।’ खनाल र ओली बीच झण्डै २ घण्टा छलफल भएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू