काठमाडौं – नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । आज (मंगलबार) बिहानै थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण पुष्टि भएका सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको अधिकारीले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।