काठमाडौं – ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो ।
गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।
संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको छ । कर्मचारीले त्यस्तो तलब लिन नमाने जागिरबाट हटाउने निर्णय पनि भएको संघका एक सदस्यले जानकारी दिए ।