काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाली ल्याउनु जोखिमपुर्ण हुने बताएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकमा भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा भएको छलफलको क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरे ।
जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताए । १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।
सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको क्याबिनेटमा प्रधानमन्त्रीको विश्लेषण थियो ।