सुशिल पन्त,
चितवन – काखमा एक महिनाको छोरी लिएर डडेल्धुराकी निर्मला ठगुन्ना क्यान्सरसँग जुधिरहेकी छिन् । पाठेघरमा क्यान्सर भएको डडेल्धुरा परसुराम गाँउपालिका ४ की ठगुन्नाको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । उनी अस्पताल आएको १० दिन भयो । अहिले अस्पतालकै बिरामी कुरुवा आवस गृहमा काखमा बच्चा लिएर बसिरहेकी छिन् उनी । एकातिर क्यान्सरको पिडा, अर्को तिर एक महिनाको काखे बच्चा । अनी त्यही माथि लकडाउनको कारण खान बस्नै समस्या ।
ठगुन्ना पिडामाथि पिडा बोकेर बसिरहेकी छिन् । बिहान बेलुका आफुले के खाने ? अनी बच्चालाई के खुवाउने यही पिडाले पिरोलीरहेको छ ठगुन्नालाई । कोठामा चामल सकिन्नै लागिसक्यो । अनी गाँउबाट ॠण गरेको ल्याएको पैसा पनि । उनलाई अहिले रोग भन्दा पनि भोकले सताउन लागेको छ । एक महिनाकी सुत्केरी बिहान बेलुका दुई चार गाँस भातको जोहो कसरी गर्ने भन्दै छटपटाउनु परेको छ । पोषिलो पोषिलो खाने कुरा खान पर्ने अवस्थामा बिहान बेलुका गाँस कसरी जोड्ने भन्ने समस्या छ ।
उनलाई आफ्नो भन्दा पनि एक महिनाको बच्चालाई के खुवाउने भन्ने चिन्ता बढी छ । अहिले त केही दिन अघी नजिकैको किराना पसलबाट किनेर ल्याएको थोरै चामल र दालले जसो तसो जोही भईरहेको छ । त्यो पनि सकिएपछि के गर्ने ? आफु के खाने, अनी बच्चालाई के खुवाउने ? ॠण गरेको ल्याएको पैसा सकिनै लाग्यो, दाल चामल किन्न जाँउ मुल्य बढेर हैरान । अब पाठेघरको क्यान्सरले होइन, भोको पेटले पिरोल्न लागेको उनी बताउछिन् ।
उनको साथका छन् देवर भाष्कर ठगुन्ना । भाष्करलाई एक महिनाको सुत्केरी भाउजु र भातिजीलाई के खुवाउने भन्ने पिडा छ । “दश दिन भयो आएको, शुरुमा यही थोरै दाल चामल किन्यौं । त्यो पनि सकिन्नै लाग्यो मलिन अनुहार बनाउदै उनले भने, सुत्केरी भाउजुलाई पोषिलो पोषिलो खुवाउनु पर्नेमा बिहान बेलुकाको दुई चार गाँस खुवाउनै समस्या हुँदैछ ।” उनले अगाडि थपे – “भाउजुलाई पोषिलो खाने कुरा खुवाउन पाए पो छोरीले पनि खान पाउनु । अवस्था एकदमै नाजुक भईसकेको छ ।”
एक महिनाको भातिजीको अवस्था हेर्दा भाष्करको मन भक्कानिन्छ । डडेल्धुराबाट क्यान्सर अस्पताल आउँदा एम्बुलेन्सले ३५ हजार भाडा लिएको उनी बताउछन् । अब भातिजीलाई घर लैजाँउ भने फेरी ३५ हजार लाग्छ अनी फर्किन अर्को ३५ हजार । “नानीलाई घर पठाउने कुरा भएको हो उनले भने, यहाँ आउँदा नै एम्बुलेन्सले ३५ हजार भाडा लियो । नानीलाई लैजाने हो भने अर्को ३५ हजार चाहिन्छन् । अनी फर्किन फेरी ३५ हजार । कसरी गर्नु ।” कतैबाट राहत आउँला कि भन्ने आशा गरेपनी केही नभएको उनी बताउछन् ।
सर्लाही हरिनगरपुर नगरपालिका ४ हरैयाका नथुनी ठाकुर हजाम श्रीमतीलाई लिएर अहिले क्यान्सर अस्पतालकै आवस गृहमा बसिरहेका छन् । पाठेघरको क्यान्सरको अप्रेसन गरेपनी समस्या देखिएपछि नथुनी फेरी अस्पताल आएका हुन् । उनलाई अहिले बिरामी श्रीमतीलाई के खुवाउने भन्ने समस्याले पिरोलिरहेको छ ।
उनले घरबाट अस्पताल आउँदा थोरै चामल ल्याएका थिए । अहिले त्यो चामल सकिनै लागेपछि अब खाने भन्ने पिडा हुन लागेको उनी बताउछन् । “घरबाट आउँदा थोरै चामल पोको पारेर ल्याएको थिए उनले भने, त्यो पनि अब एक दुई छाकपछि सकिन्छ । न खाने चामल छ न किन्ने पैसा नै ।”
केहीदिन अघी भरतपुर ७ बुद्दचोकमा राहत बाडेँको भन्ने खबर पाएर उनी त्यँहा गएका थिए । तर राहत उनको हातमा परेन । टोलसुधार समितिका अध्यक्षले एक वडा सदस्यको नम्बर दिए । तर उनिसँग सम्पर्क हुन सकेन । बिभिन ठाउँमा राहत बाडेँको समाचार सुन्दा यता पनि आउँछन् कि भन्ने आशा लाग्ने गरेको उनी बताउछन् । तर अहिलेसम्म कही कतैबाट पाएको भने छैनन् । “घरमा भए त खान समस्या हुन्थेन । यहाँ दाल चामल नै सकिन लाग्यो उनले भने, घरबाट मगाँउ भने अहिले सम्भव छैन । न चामल मगाँउन सकिएको छ न त पैसा नै ।”
झापाका कर्ण लिम्बु किड्नीमा ट्युमर भएपछि उपचारका लागि भरतपुर क्यान्सर अस्पताल आएका छन् । लिम्बु यहाँ आएको डेढ महिना भयो । उनी पनि क्यान्सर अस्पतालको रेडक्रस भवनको एक कोठामा भाडा तिरेर बसिरहेका छन् । लकडाउनले गर्दा खाद्यान्नमै समस्या भएको उनी बताउछन् ।
खाद्यान्नको समस्या भएपछि केही संघ संस्थाबाट सहयोग लिन खोजिएपनी समन्वय हुन नसकेको उनी बताउछन् । “अहिले बाहिर बस्नेलाई त समस्या छ, हामी अस्पताल भित्र बसेर उपचार गराईरहेकालाई समस्या हुनु स्वभाविक नै हो उनले भने, संघ संस्था र सरकारी निकायसँग सहयोग लिन नखोजेको होइन तर समन्वय हुन सकेन ।”
केही दिन अघी टोल सुधारबाट ५ किलो चामल र आधा किलो दाल पाएको भने उनले बताए । तर त्यो पनि ५-६ जनाले मात्र पाएका थिए । “केही दिन अघि हामी ५-६ जनाले ५ किलो चामल र आधा किलो दाल पाएका थियौं । तर त्यतीले कती दिन पुग्ने – उनले गुनासो गरे ।” उनले पनि टोल सुधारबाट वडासदस्यको नम्बर पाएको तर सम्पर्क हुन नसक्दा समस्या भएको बताए । टाढा टाढाबाट आएकाहरुलाई निकै समस्या भईरहेको उनी बताउछन् । “नेपालको पुर्वदेखी पश्चिमका बिरामीहरु छन् यहाँ उनले भने, घरमा त खाद्यान्न छ नी तर यहाँ नहुँदा समस्या भयो । घरबाट पठाइदेउ भने पनि कसरी पठाउने ?” उनले एकातिर रोग अर्को तिर भोकको पिडा भएको भन्दै भने – “अब रोग र भोकसँग एकै चोटी कसरी लड्नु ?”
मोरङका यमप्रसाद आचार्य, अछामकी निर्मला धमला न्यौपाने, झापाका भानुभक्त रिमाल लगायतको पिडा पनि उस्तै छ । अस्पतालको आवस गृहमा रहेका १८ परिवार र रेडक्रस भवनमा रहेका परिवार सबैलाई खाद्यान्नको समस्या छ । लकडाउनको कारण न घरबाट पैसा मगाउन सकेका छन् न त खाद्यान्न नै । वडा, बिभिन्न टोलसुधार, संघ संस्थाहरुले राहत बाडँने गरी पनि आफुहरुले कतैबाट नपाएको उनिहरुको गुनासो छ । केहीको त चामल नै सकिएर अर्को कोठामा बस्नेसँग मागेर बिहान बेलुकाको छाक टारिरहेका छन् । तर अहिले सबैको खाद्यान्न सकिनै लागेकोले समस्या भएको उनिहरु बताउछन् । एकातिर रोगले सताइरहदा अर्कातिर भोकले त्यही माथि पिडा थपिरहेको छ ।
अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खानाको व्यवस्था गरिने भएपनी आवासमा बस्नेलाई भने त्यस्तो नहुने बताए । लामिछानेका अनुसार भर्ना भएका बाहेकका बिरामीहरुको लागि आवासको मात्र व्यस्था छ । ” अस्पतालमा भर्ना भएका बिरामीको लागि अस्पतालकै क्यान्टिनबाट खानाको व्यवस्था गरेका छौं उनले भने, आवासमा बस्नेहरुको लागि त्यस्तो हुदैन ।”
भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले पहिलो चरणमा केही राहत वितरण गरेको बताए । तिनाउ बिकास बैंकको सहयोगमा केही दिन अघी क्यान्सरका बिरामीलाई राहत वितरण गरिएको उनले बताए । महानगरबाट सिमित बजेट आएकोले सबैलाई वितरण गर्न भने सम्भव नभएको उनको भनाई छ । “महानगरबाट जम्मा २ लाख ५० हजार बिनियोजन भएको छ, यसले सबैलाई पुग्दैन उनले भने, कतैबाट आएको खण्डमा हामी सहयोग गर्छौं ।”