आजबाट चितवनमै कोरोना परीक्षण शुरु गर्ने तयारी
चितवन – आज (शनिबार) बाट चितवनमै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण शुरु गर्ने तयारी भईरहेको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षणको लागि ल्याब निर्माण भईरहेको छ ।
आजबाट नै प्रयोगशाला सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको कोरोना रोग विरुद्ध जिल्ला समन्वय समितिका संयोजक तथा वागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए । “काठमाडौंबाट आउनुभएका प्राविधिकहरुले काम गरिरहनु भएको छ उनले भने, ‘आज बेलुकासम्म प्रयोगशाला सञ्चालनमा आउनेछ ।”
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ ।भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो ।
महानगर प्रमुख रेणु दाहालले अहिलेको संक्रमणकालमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु गरिए पनि केही महिनापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने जानकारी दिइन् ।भरतपुरमै प्रयोगशाला सन्चालन भएपछि अब गाडीमार्फत् दिनहुँ नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने छ ।
स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार चितवन आएर बिहीबार दिनभर प्रयोगशाला स्थापनाका लागि उपयुक्त स्थानको अध्ययनमा खटिएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला नै कोरोना भाइरसको परीक्षण गर्न उपयुक्त भएको निष्कर्ष निकालेको थियो ।
तपाइँको प्रतिक्रिया