कपिलवस्तुको विजयनगरमा आगलागी, २५ घर–गोठ जले
काठमाडौं- कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रबार आगलागी हुँदा २५ घर–गोठ जलेका छन् । विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपराह्न ४ः३० बजे आगलागी हुँदा २५ घर तथा गोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।
आगलागी स्थानीय काशीनाथ यादवको घरबाट सुरु भएको थियो । आगलागी भएको गुगौली, सदरमुकाम तौलिहवाबाट करिब ४५ किलोमिटर पश्चिममा पर्छ । आगलागी भएको बस्ती न्यून आय भएका व्यक्तिहरूको बसोबास रहेको क्षेत्र हो ।
आगो करिब २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । तौलिहवाबाट आएको एउटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । लागलागीको कारण भने खुलेको छैन ।
तपाइँको प्रतिक्रिया