नारायणगढ रोटरीद्वारा इच्छाकामनाका एक सय परिवारलाई खाद्यान्न सहयोग
चितवन – नारायणगढ रोटरी क्लबले इच्छाकामना गाउँपालिकामा करिब एक सय परिवारलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरेको छ । क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई उक्त खाद्यान्न हस्तान्तरण गरे ।
क्लबका पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाको सौजन्यतामा उक्त गाउँपालिकाका दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने मजदुरहरूको परिवारलाई चामल, तेल, नुन, सोयाबिन, दाल, आलु, प्याज, साबुन, चिउरा र विस्कुट गरी एकलाख पचास हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
इच्छाकामना गाउँपालिकाका सात वटा वडाहरूमध्ये १ र २ नम्वर वडाहरू अत्यन्तै विकट ठाउँमा रहेकोले उक्त वडाहरूमा वसोवास गर्ने चेपाङ, दरै लगायत अन्य जातिहरूको दैनिक भरणपोषणमा समस्या नहोस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको क्लबका पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाले बताए ।
कोरोना भाइरस नियन्त्रणका लागि जारी नेपाल लकडाउनको समयमा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले बताए । क्लबले सहयोग गरेको उक्त खाद्यान्न सम्बन्धित वडा अध्यक्षहरू मार्फत मजदुरको परिवारलाई वितरण गरिनेछ ।
तपाइँको प्रतिक्रिया