चितवनमा ‘लकडाउन’को असर ः दुध संकलन हुनै छाड्यो
सूर्यप्रसाद अधिकारी, चैत्र १३, चितवन । सरकारले कोराना भाईरसको रोकथाम र नियन्त्रण गर्न देशव्यापी रुपमा लकडाउन गरेपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । यसअघि माग र आपूर्ति नियमित रुपमा सञ्चालन भएपनि काठमाडौंमा आउने सवारी र दुग्ध उद्योग बन्द हुंँदा दुध संकलन हुनै छाडेको हो ।
कृषकले दुध उत्पादन गरेपनि अधिकांश डेरी, र अन्य पसल बन्द हुंँदा दुध वितरणमा समस्या परेको उनीहरुको भनाई छ । व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे भरतपुर दुग्ध संकलन केन्द्रले दुधनै नलिदाँ समस्या परेको बताउंँछन । ‘दुधको उत्पादन छ के गर्नु संकलन केन्द्रले दुधनै लिन मान्दैनन ।’ उनका अनुसार डिडिसीको संकलन केन्द्रलेनै दुध नलिएका कारण समस्या भएको हो । दुध संकलन नहुनुको साथै चोकर दाना पनि पाउन छाडिएको उनको भनाई छ । जसका कारण एकतर्फ उत्पादित दुध बिक्री हुन सकेको छैन भने पशुचौपायलाई समेत बचाउन गाह्रो परिरहेको छ ।
काठमाडौमा बाट दुध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरु पनि बन्द भएका कारण थप चिन्तामा रहेको कृषकहरुको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले दुध संकलन र वितरणलाई कसरी व्यवसथापन गर्ने भन्ने थप चिन्ताको बिषय रहेको बताउंँछन । ‘एकत उपभोत्तानै घरबाहिर निस्कन छाडिसके, उनले भने, अर्को कुरा सरकारले यसको सही व्यवस्थापन गर्न सकेन । ’
आफूले बारम्बार काठमाडौका नीजि डेरीलाई दुध लिन आग्रह गरेपनि दुध लिन नआएको उनको भनाई छ । ‘लकडाउन अघि दुध संकलन ठिकै थियो, अहिलेत ठप्प जस्तै छ ।’उनले भने । दुध अत्यावश्यक खाद्यपदार्थ भएकोले सुरक्षित कवच प्रयोग गरेर व्यवस्थापनतिर ध्यान दिनुपर्ने उनको भनाई छ ।
दुधको माग भएपनि आफूले डेरी पसल खोल्न नसक्ने अवस्थामा रहेको बताउँछन भरतपुर मांँ शक्ति डेरीका सञ्चालक लोकनाथ सापकोटा । ‘डेरी खोल्यो पसलमा मानिसको भीड हुन्छ उनले भने, स्वास्थ्य ठुलो कि सेवा भन्ने कुरा भयो ।’ दुध बिक्री गर्दा संक्रमण हुने डर भएका कारण आफूले पसल बन्द गर्न लागेको उनले बताए ।
त्यतिमात्र होइन हालै मात्र सञ्चालनमा आएको गंगानगर दुग्ध उद्योग पनि आज बिहीबारबाट बन्द हुन लागेको व्यवस्थापक रामप्रसाद सापकोटाले बताए । ‘खोलेर मात्र के गर्नु दुध बिक्रीनै हुदैन ।’ उनले भने । उक्त सहकारीमा दैनिक ५ हजार लिटर दुध बिक्री हुदै आएको छ । डिडिसी र नीजि डेरी उद्योगले दुध नलिंदिदा आफूहरु थप मर्कामा परेको कृषकहरुको दुखेसो छ । चितवनमा दैनिक ३ लाख लिटर दुध उत्पादन हुदै आएको छ । जिल्लामा यहांँको उत्पादनको ४५ प्रतिशत खपत भएपनि बांँकी दुध काठमाडौं जाने गरेको छ। यहांँ झण्डै ५सय जति व्यवसायिक दुग्ध उत्पादक फार्म रहेका छन ।
तपाइँको प्रतिक्रिया