२५ जनाभन्दा बढी मलामी नआउन आग्रह, भोलिदेखि पशुपतिको आरती बन्द

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले सम्भव भएसम्म २५ जना भन्दा धेरै मलामी नआउन अनुरोध गरेको छ ।
सरकारले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गरेसँगै पशुपति क्षेत्र विकास कोषले पनि पशुपति आर्यघाटमा धेरै उपस्थित नहुन आग्रह गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले यसबारे हिजो सूचना जारी गरिएको र त्यसको अनुगमन पनि भइरहेको बताए ।
‘हामीले २५ जना भन्दा धेरै जना नआउन अनुरोध गरेका छौं’ ढकालले भने,‘परिस्थितिलाई हेरेर सबैलाई यसको पालन गर्न आह्वन गरिएको छ ।’ उनले पशुपतिमा नियमति हुँदै आएको आरती पनि बन्द गर्ने तयारी गरिएको जानकारी दिए ।
‘पशुपतिनाथको नित्य पूजा जारी रहन्छ तर बाहिर हुँदै आएको आरती भने भोलिदेखि बन्द गर्ने तयारी गरिएको छ’ उनले भने ।
यसअघि विहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले मठ मन्दिर र धार्मिक स्थलमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालु दर्शनार्थी भेला नहुन आग्रह गरेका थिए । यसरी लामबद्ध हुने दर्शनार्थीहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने बताएको थियो ।
विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने ।
तपाइँको प्रतिक्रिया