बंगलादेशमा कोरोनाको संक्रमण फैलने डर

काठमाडौं – पछिल्लो समय विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएको छ । यो भाइरस नियन्त्रणका लागि विश्वका धेरै मुलुकले आफ्नो अन्तर्राष्ट्रिय उडान तथा बाहिरबाट आउने मानिसमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यसका साथै भीडभाड हुने क्षेत्र बन्द गर्ने र धेरै मानिस भेला हुन नपाउने नियम धेरै मुलुकले अघि सारेका छन् । तर, बंगलादेशमा भने बुधबार भाइरसको बढिरहेको समयमा हजारौं मानिस मस्जिदमा प्रार्थनाको लागि भेला भएका थिए ।
बंगलादेशको राइपुरमा १० हजार मानिस बुधबार भेला भएको स्थानीय प्रहरी प्रमुख टोता मियाहले बताएका छन् । तर केहीले भने उक्त स्थानमा भेला हुनेको संख्या ३० हजार रहेको दाबी गरेका छन् । यसअघि गत फेब्रुअरीमा मलेसियामा त्यस्तै किसिमको धार्मिक भेला कोरोना भाइरस फैलिनुको कारण रहेको खुलेको थियो ।
मलेसियाको उक्त भेलामा १६ हजार मानिस सहभागी भएका थिए । मलेसियामा पाइएको संक्रमण छिमेकी मुलुक ब्रुनाई, सिंगापुर र कम्बोडियाबाट आएको बताइएको छ । त्यसपछि मलेसियाले सबै सार्वजनिक भेलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भाइरस रोक्न मलेसियाले आफ्नो सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै किसिमको धार्मिक भेला इन्डोनेसियाले पनि रद्द गरेको छ ।
प्रार्थना र सुरक्षा
बुधबार बंगलादेशमा कोरोना भाइरसको कारण बंगलादेशमा पहिलो मृत्युको पुष्टि भएपछि यो धार्मिक भेला आयोजना गरिएको थियो । अहिलेसम्म बंगलादेशमा १८ जनामा यो भाइरसको पुष्टि भइसकेको छ । तर, विज्ञहरुले भने सरकारको यो तथ्यांकप्रति आशंका व्यक्त गरेका छन् । मियाहका अनुसार, बुधबारको आयोजकले कुनै अनुमति भने लिएका थिएनन् ।
बीबीसी बंगालीका अनुसार उनीहरुले आफूहरु अब भने कोरोनाबाट मुक्त भएको बताएका थिए । उनीहरु धर्मको आस्थाले यो भाइरस नलाग्नेमा विश्वास गर्छन् । एजेन्सी
तपाइँको प्रतिक्रिया