कोरोना प्रभाव : नारायणी नदी किनारका अस्थायी खाजा पसलहरु बन्द

चितवन – चीनबाट शुरु भई विश्वभर फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न चितवनमा उच्च सतर्कता अपनाईदै छ । कोरोना संक्रमण हुन नदिन नारायणगढ स्थित नारायणी नदी किनारमा रहेका अस्थायी खाजा पसलहरु बन्द गर्ने गरिएको छ ।
भरतपुर महानगरपालिकाको कार्यालयमा आज (बिहिबार) बसेको बिपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसारनै नारायणी नदी किनारमा रहेका अस्थायी प्रकृतिका व्यवसायहरु बन्द गरिएको प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए । खुल्ला रुपमा खाद्य पदार्थले कोरोना संक्रमणको जोखिम हुने भएकोले बन्द गरिएको उनले बताए ।नारायणी नदी किनारमा रहेका अस्थायी प्रकृतिका व्यवसायमा मानिसहरुको भिड लाग्ने भएकोले पनि रोक लगाईएको उनले बताए ।
यस्तै आजको बैठकले महानगरपालिका क्षेत्रमा आपतकालिन सुचना आदान प्रदान तथा समन्वयका लागि स्थायी आपतकालिन सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । उक्त केन्द्रले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि कार्य गर्नेछ । आजको बैठकले नै भरतपुर ५ का वडाध्यक्ष पदमपाणी सुवेदीको संयोजकत्वमा आपतकालिन सामाग्रीसहितको रेस्पोन्स टिम पनि गठन गरेको छ ।
तपाइँको प्रतिक्रिया