कोरोना प्रभाव : कैदीबन्दी भेटघाट बन्द
तनहुँ – सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले भने, “अत्यावश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ ।”
अत्यावश्यक रुपमा भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्य मास्क लगाई साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उनले बताए । उक्त कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी छन् । पैतीँस क्षमताको उक्त कारागारमा कैदी ८० र थुनुवा ६६ गरी हाल १ं४६ कैदीबन्दी छन् ।
कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण गरिए पनि सञ्चालनमा ल्याउन ढिलाइ भएका कारण गर्मी मौसम शुरुआतसँगै कैदीबन्दीले कठिनाइ भोग्नुपरेको उनले बताए ।कारागार नजीक विद्युत्को थ्रीफेज नहुँदा सञ्चालन गर्न गाह्रो भएको छ ।
उनले भने, “नेपाल विद्युत् प्राधिकरण कार्यालयसँग कुरा भइरहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुत्न र शौचालय जान समस्या हुने गरेको छ । कारागार परिसरमा निर्माण सम्पन्न गरिएको नयाँ बन्दीगृह सञ्चालनमा ढिलाइ भएका कारण कैदीबन्दीले सास्ती भोग्नुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताए ।रासस
तपाइँको प्रतिक्रिया