सञ्चारकर्मी –सूचना अधिकारी अन्तक्र्रिया ः सूचना सम्प्रेषण प्रभावकारी नभएको गुनासो

चैत्र ४, चितवन । जिल्लाका सञ्चारकर्मीहरुले सरकारी निकायका सूचना प्रवाह प्रभावकारी नभएको गुनासो गरेका छन । आज नेपाल प्रेस युनियन चितवनले रजतबर्षको अवसरमा आयोजना गरेको सञ्चारकर्मी–सुचना अधिकारी बीच भएको अन्र्तक्रियामा सरकारी सूचना अधिकारीले सूचना ढिलो दिने, लुकाउने र नदिने जस्ता समस्या रहेको बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रेस युनियनका केन्द्रीय सदस्य वसन्त पराजुलीले सूचना अधिकारीले सूचना दिननै गाह्रो मान्ने गरेको बताए । सूचना प्रवाहमा सूचना अधिकारीले सूचना ढिलो दिने एवं आफ्नो उत्तरदायित्व बहन नगरेको पराजुलीलले गुनासो गरे । सूचना प्रवाहमा सरकारी निकाय पछि परेको सूचनामैत्री ,प्रविधिमैत्री र सञ्चारमैत्री व्यवहार नभएको , सूचना दिने संयन्त्रनै फितलो र पुरानो ढर्रामा सूचना दिएको भन्दै सञ्चारकर्मीले असुन्तुष्टी व्यक्त गरेका थिए ।
नेपाल प्रेस संगठन नेपालका केन्द्रीय सदस्य एवं गोरखापत्रका संवाददाता शालिकराम नेपालले आम नागरिकको सूचना पाउने अधिकारमा सूचना अधिकारी गम्भिर नभएको बताए । सूचना अधिकारीले अधिकांश सूचनाहरु पुरा नदिने एवं समयमै उपलब्ध नगर्ने गरेका कारण आम नागरिकको सुसुचित हुने अधिकार कुण्ठित हुनुपरेको उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सूचना अधिकारीले पत्रकारलाई मात्र नभई हरेक नागरिकले सूचना दिन कञ्जुस्याई गर्न नहुने बताए । हरेक सरकारी निकाय एवं स्थानीय निकायले सरकारी गतिविधिका सूचना प्रवाह नियमित गर्नुपर्ने भन्दै कार्यालयले सञ्चारमैत्री वातावरण तय गर्नुपर्नेमा जोड दिए । सहभागी अन्य सञ्चारकर्मीले सूचना समयमै नदिदा र लुकाउंँदा कार्यालयका राम्रा कामहरु समेत जनता समक्ष नपुगेको , सूचना अधिकारीले सही र समयमा सूचना नदिदा सञ्चारकर्मीले वैकल्पिक श्रोत खोज्दा समाचारको प्रभाव प्रत्युत्पादक समेत हुने गरेको बताएका थिए ।
सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले प्रहरीको हरेक विषय सुरक्षा संवेदनशीलतासंँग जोडिएको हुंँदा तत्काल सूचना दिन कठिनाई भएको बताए । कतिपय सूचना माथिल्लो निकायको आदेश मान्नुपर्ने, कतिपय सूचनाहरु दिदा अनुसन्धान प्रभावित हुने र कतिपय सूचना हतार गरेर दिदा समाजमा फाइदा भन्दा वेफाइदा हुने संभावित जोखिमलाई विचार गरेर दिनुपर्ने हुंँदा सहजै सूचना प्रवाह गर्न चुनौति रहेको बताए । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले स्वास्थ्य सम्बन्धी सूचना प्रवाह गर्दा विचार गरेर सम्प्रेषण गर्नुपर्ने , दिईएका सूचना पनि पत्रकारकारले तोडमोडरुपमा प्रवाह गर्दा नागरिकमा भ्रम सिर्जना पैदा हुने गरेको बताए । जनतामा सूचना प्रवाहगर्दा सूचना अधिकारी र सञ्चारकर्मीबीच सहकार्य र समन्वय प्रभावकारी भएमा मात्र सही सूचना प्रवाह हुने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद भट्टराइले कतिपय सूचना दिदा समाजमा नकारात्मक असर पर्ने भएको भन्दै राष्ट्रसेवक, पत्रकार सबैको साझा उद्धेश्य शुसासन र समृद्धि भएकोले एक अर्कासँग समन्वयकारी भूमिका खेल्नुपर्ने बताए । पछिल्लो समय अघोषित मिडीयाहरुले समाजमा त्रास, उत्तेजना फैलाउने गरेको भन्दै सूचनालाई प्रभावकारी बनाउन सत्य तथ्य सहित सूचनामैत्री हुनुपर्नेमा उनले जोड दिए ।
प्रेस युनियन, चितवनका अध्यक्ष अनिल ढकालले जिल्लाका सञ्चारकर्मीले सहजै सूचना नपाएको गुनासो बढिरहेको भन्दै यसलाई सहज बनाउन र सूचनामैत्री वातावरण बनाउन यो कार्यक्रम प्रभावकारी हुने दाबी गरे । आगामि दिनमा समेत यस्ता रचनात्मक, सिर्जनात्मक कार्यलाई यूनियनले निरन्तरता दिदै जाने ढकालले प्रतिबद्धता जनाए ।
तपाइँको प्रतिक्रिया