भरतपुरमा कोरोना उपचार अस्पताल संञ्चालनमा ल्याईने

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको चितवन प्रदर्शनी केन्द्र भरतपुरमा कोरोना बिशेष अस्पताल संञ्चालनमा ल्याईने भएको छ । भरतपुर महानगरको अगुवाईमा आज (मंगलबार) सम्पन्न सरोकारवालाहरुको बैठकले ७० शैयाको अस्पताल तत्काल संञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यिय कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्ब तयारीका लागि कार्यदल समेत गठन गरेको छ । कार्यदलमा प्रमुख जिल्ला अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रतिनिधि, भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक, स्वास्थ्य कार्यालय चितवनका प्रमुख, भरतपुर महानगरपालिकाका स्वास्थ्य बिज्ञ, चितवन मेडीकल कलेजका निर्देशक, कलेज अफ मेडीकल साईन्सेसका निर्देशक रहेका छन् ।
यसै गरि उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष, उद्योग संघ चितवनका अध्यक्ष, नीजि अस्पताल समन्वय समिति चितवनका अध्यक्ष, नर्सिङ् संघ चितवनका अध्यक्ष, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिब एबं प्रबक्ताको जिम्मेवारी महानगरका स्वास्थ्य बिज्ञ बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीलाई दिईएको छ ।
कार्यदलको आज बसेको बैठकले १० शैयाको सघन उपचार कक्ष, १० शैयाको हाई डिपेन्डेन्ट यूनिट (एच डि यू) र ५० शैयाको सामान्य शैया ७२ घण्टा भित्र निर्माण गरि संञ्चालनमा ल्याउने निर्णय गरेको छ । कार्यदलका सदस्य सचिब अधिकारीका अनुसार अस्पताल संञ्चालनका लागि बिभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारी समेत दिईएको छ । जसमा भरतपुर बिमानस्थल सहित बिभिन्न स्थानमा बिरामीको स्क्रीनिङ् गर्ने कार्य स्वास्थ्य कार्यालय चितवनले गर्ने छ ।
अस्पतालको बहिरंग सेवा डा. अधिकारी र चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा. अनिल बिक्रम कार्कीले समन्वय गरि संञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ । यसै गरि जनरलवाड बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्य, एच डि यू संञ्चालन गर्न कलेज अफ मेडीकल साईन्सेस एबं नीजि अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडीकल कलेजलाई दिईएको छ ।
जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र आबश्यक पूर्बाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ । बैठकले प्रयोगशाला र रेडीयोलोजि बिभाग संञ्चालन गर्न नीजि अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको अधिकारीले जानकारी दिनुभयो ।
कार्यदलका प्रबक्ता समेत रहनु भएका अधिकारीका अनुसार जिल्ला र बाहिरका अस्पताल एबं बिभिन्न स्वास्थ्य परिक्षण गरिएका क्षेत्रहरुमा भेटिएका शंकास्पद बिरामीहरुलाई यस अस्पतालमा पठाईने छ । तत्कालका लागि सरकारी र नीजि अस्पतालहरुमा रहेका आईसोलेसन कक्षहरु पनि संञ्चालनमा रहने छन् ।
महानगर प्रमुख दाहालले रोग भित्रन नदिन उच्च सतर्कता अपनाउने काम भईरहेको भन्दै रोग फैलिहालेमा पूर्ब तयारीका लागि काम थालिएको बताईन् । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रन नपाउने र भित्रीहालेमा क्षती बेहोर्नु नपर्ने बताईन्। समस्या भईहालेमा पूर्ब तयारीका लागि कार्यदलले अन्यत्र क्षेत्रहरु पनि हेरीरहेको उनले जानकारी दिईन् ।
तपाइँको प्रतिक्रिया