मतदानबाट आज टुंगो लाग्दै प्रदेश २ को नाम र राजधानी

धनुषा – लामो समय पश्चात प्रदेश २ को स्थायी राजधान र नाम आज टुंगो लाग्दै छ । सहमति मार्फत नाम टुंगो लाग्न नसकेपछि आज मतदान मार्फत टुंगो लगाउन लागिएको हो । सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ ।
मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताए । प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन ।
प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्तारुढ समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।
तपाइँको प्रतिक्रिया