शिक्षक नहुँदा सुधार गृहका बालक मारमा

मनिका विश्वकर्मा
हेटौंडा – हेटौंडामा रहेको बाल सुधार गृहमा बालकहरुमा न्युनतम अध्ययन अध्यापनको अवस्था कमजोर रहेको पाइएको छ । सरकारले ती बालकहरुको उचित शिक्षाको लागि शिक्षक व्यवस्थापन गर्न नसक्दा उनीहरु मारमा परेका छन् । जसका कारण बालकहरु स्वयंम अध्ययन गरी परीक्षा दिन बाध्य छन् ।
कक्षा ८ को परीक्षा दिन तयारी रहेका एक बालकले शिक्षक नहुँदा अन्यौलमा रहेको बताउन्छन् । उनले भने, ‘मलाई सिकाउने गुरु हुनुहुन्न । सिनियर दाईहरुसंग सिक्ने गरेको छु ।’ शिक्षक नहुँदा परीक्षा नै राम्रो नहुने चिन्तामा रहेको उनले बताए ।
उनी जस्तै कक्षा ११ को परीक्षा दिन तयार गरेका अर्का विद्यार्थीको गुनासो पनि उस्तै छ । विज्ञान प्राक्टिकल विषय हो । उनले भने, ‘यसमा अनिवार्य शिक्षक नै हुनुपर्छ ।’ शिक्षक बिना साईन्स विषय सजिलै पास गर्न नसकिने उनको भनाई छ ।
सुधार गृहमा स्थायी कर्मचारी एक जना छन् भने प्रशासन सम्बन्धि ६ र करारमा ५ जना रहेका छन् । आफुहरुले शिक्षकको माग पनि गरेको र शिक्षा अफिसबाट एक जना शिक्षक खटाएको पनि थियो । तर प्रा।वि तहको शिक्षक रहेकाले क्यान्सिल गरिदिएको पुडासैनीले भने, ‘यहाँ ८ देखी स्नातकसम्म अध्ययन गर्ने बालकहरु रहेका छन् । अहिले हामीलाई दक्षता भएको शिक्षकको खाँचो रहेको छ । ’
सुधार गृहमा कम्प्युटरको नाममा दुई वटा मात्रै रहेका छन् । सुधार गृहमा लाइब्रेरी छ तर किताबहरु भने तिन। चार वटा रहेका छन् । बेलाबेलामा उनीहरुलाई परामर्श गर्नका लागि दुईजना परामर्शदाता पनि राखिएको पुडासैनीले बताए ।
स्वास्थ्य अवस्था पनि उस्तै
सुधार गृहमा रहेका बालकहरु बिरामी भईरहेका हुन्छन् । तर उपचारको लागि भनेर बजेट छुट्टाएको छैन । पुडाशैनीले भने, ‘एक ताका त सबै बालकहरुलाई लुतो, घाउ खटिरा जस्ता छाला सम्बन्धि रोग देखा परेको थियो ।’उनीहरुलाई सरकारी अस्पतालमा उपचारका लागि लगियो । तर औषधी किन्ने पैसा भने नभए पछि पुडाशैनीले आफ्नै खल्तीबाट रकम दिएर उपचार गराएको बताए । उनले भने, ‘गर्मी महिना लागेपछि झनै बढी बालकहरु बिरामी हुने गर्छन ।
सुधार गृहका बालकहरुलाई ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिने पुडाशैनीले बताए । सुधार गृहका बालकहरुका उपचारका लागि पहिला कारागरले दिन्थ्यो भने अहिले यसका लागि केही शिर्षक नभएको बताउन्छन् । सरकारबाट पनि उता उपचारका लागि भनेर सुधार गृहमा कति पनि बजेट नआएको पुडासैनीले गुनासो गरे ।
सुधार गृहले आश्रित बालकहरुलाई आश्रयको साथै उनीहरुको शारीरिक मानसिक विकास र खेलकुद तथा मनोरञ्जनका सुविधाहरु उपलब्ध गराएको पुडासैनीले जानकारी दिए । खेलको नाममा उनीहरुलाई क्यारेमबोर्ड र फुटबलको व्यवस्था गरिएको उनले बताए । बागमती प्रदेशको १३ वटा जिल्ला र १ नम्बर प्रदेशका बालकहरुलाई सुधार गृहमा राखिएको छ ।
विभिन्न अपराधका मुद्दामा फैसला भएका र पुर्पक्षका लागि थुनामा राखिएका बालबालिकाहरुलाई सुधार गृहमा राखिन्छ । बाल सुधार गृहको दैनिक बन्दी गणना फारम अनुसार यहाँ फैसला भएका २२ जना छन् भने पुर्पक्षका लागि २० जना राखिएको छ । कर्तव्य ज्यानमा ७ जना, लागु औषधमा ९, डाकाँमा २, चोरीमा १०, जबरजस्ती करणीमा १०, सवारी ज्यानमा २, सार्वजनिक अपराधमा १ र गौवध मुद्दामा १ गरी ४२ जना बाल सुधार गृहमा रहेका छन् । गृहको क्षमता भने ७० जना राख्न मिल्ने छ तर अहिले सम्म ६५ बाट माथि ननाघेको गृहका वार्डेन पुडासैनीले बताए । हेटौडाँमा रहेको यो गृहमा बालकहरुलाई मात्रै राखिन्छ ।
सामाजिक विकास मन्त्रालयका बाल अधिकारकर्मी बद्री वाग्लेका अनुसार, बाल सुधार गृह प्रदेश सरकार अन्तर्गत आएको छैन । सुधार गृहलाई प्रदेश सरकारको मातहातमा गराउने प्रयास भईरहेको उनले बताए । संघले गृहलाई संरक्षण गरेकाले हेटौंडा उपमहानगरपालिकाको ध्यान नगएको वाग्लेले बताए । संघले प्रदेश सरकारलाई बाल सुधार गृह हस्तान्तरण गरेको छैन । त्यसैले प्रदेश सरकारको प्राथमिकतामा नभएको वाग्लेले बताए ।
नेपालमा ८ वटा बाल सुधार गृह रहेका छन् । बिराटनगर र भक्तपुरका सुधार गृहमा विद्यालय नै छ भने अन्य गृहमा भने छैन ।
तपाइँको प्रतिक्रिया