कोरोना प्रभाव : व्यवसायीहरुको बैंकको ब्याज मिनाह गर्न उवासंघ चितवनको माग

चितवन – कोरोना भाइरसका कारण उद्योग व्यवसाय ठप्प भएको भन्दै उद्योग वाणिज्य संघ चितवनले बैंक तथा वित्तिय संस्थाहरुको ब्याज मिनाह गर्न माग गरेको छ । अध्यक्ष राजु श्रेष्ठद्वारा हस्ताक्षिरित एक विज्ञप्ती जारी गर्दै संघले बैंक तथा वित्तिय संस्थाहरुको ब्याज मिनाहा गर्न माग हो ।
कोरोनाको कारण आयात निर्यात ठप्प रहेको र उद्योग व्यवसाय समेत बन्द रहेकोले बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ॠणको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै मिनाह गर्न आग्रह गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । संघले कोरोनाको कारण उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय प्रभावित भएकोले व्यवसायिक संक्रमणकाल घोषणा गर्दै ब्याज मिनाह गर्न माग गरेको छ ।
विज्ञप्तीमा भनिएको छ – “एकातर्फ आवातजावत, सभा सम्मेलन, मेला महोत्सव जस्ता क्रियाकलाप गर्न बन्देज एवं कच्चा पदार्थ तथा अन्य सामानहरुको आयात समेत ठप्प भएको कारण व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज समयमा तिर्नुपर्ने बाध्यकारी अवस्थाका कारण व्यवसायी हतोत्साहित भएकाछन् । अतः उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकुल असर गर्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि यो समयावधिलाई व्यवसायिक संक्रमणकालको रुपमा घोषणा गर्दै उक्त समयावधिको बैंक तथा वित्तिय संस्थाको व्याज मिनाह गर्ने व्यवस्थाका लागि सम्बन्धित निकायमा उद्योग वाणिज्य संघ-चितवन जोडदार माग गर्दछ ।”
मेला महोत्सवमा बन्देज, कच्चा पदार्थ तथा अन्य सामानहरुको आयात ठप्प हुँदा व्यवसायीहरु मारमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संघले दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा उपलब्ध गराउन पनि सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको । यस्तै उपभोक्ताहरुलाई पनि दैनिक उपभोग्य सामानहरु भण्डारण नगर्न संघले आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया