कोरोना कहर : चीनमा शून्य, १४५ देशमा महामारी, २४ घण्टामै ४४० जनाको मृत्यु
एजेन्सी – चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ सय ४० जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै इटलीमा २५० जनाले ज्यान गुमाएका छन् ।
चीनको वुहान शहरबाट महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण शनिबार बिहानसम्म (नेपाली समयअनुसार) विश्वका १ सय ४५ देशमा देखिएको छ।
यो समाचार तयार पार्दासम्म विश्वभरका १ लाख ४५ हजार, ६ सय १५ (१,४५,६१५) जना संक्रमित भएको पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ११ हजार ३८ जना नयाँ संक्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबारसम्म १ सय ३८ देशमा देखिएको कोरोना आजसम्म बढेर १ सय ४५ देशमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजार ४ सय २१ (५,४२१) जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै चीनका रहेका छन् । चीनमा कोरोनाका कारण ३ हजार १ सय ७७ जनाको ज्यान गएको छ । तर शुक्रबार भने चीनमा कसैको पनि ज्यान गएको छैन।
हालसम्म कोरोनाको संक्रमण देखिएका ७१ हजार १ सय ६० जना उपचारपछि घर फर्किएका छन् भने ६ हजार एक सय १६ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
शनिबारसम्म इटालीमा १,२६६ जना, इरानमा ५१४, चीनमा ३१७७, दक्षिण कोरियामा ७२, स्पेनमा १३३, फ्रान्समा ७९, अमेरिकामा ४८, जापानमा २१, यूके ११, बेल्जियम ३, स्वीजरल्याण्ड ११, नेदरल्याण्ड १० जनाको ज्यान गएको छ । यी देशमा कोरोनाका संक्रमण उच्च छ । अन्य देशको विवरण तल तालिकामा उल्लेख छ ।
चीनमा नियन्त्रण
वुहान शहरबाट महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण नजिक रहेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार एकै दिन इटालीमा २५० जनाको ज्यान जाँदा चीनमा भने कसैले पनि ज्यान गुमाउनु परेन । शुक्रबार चीनमा जम्मा ११ जना नयाँ संक्रमित फेला परेका छन् ।
तपाइँको प्रतिक्रिया