लोक गायक कुटवाल थुनामा

चितवन – तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत तनहुँले वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका थिए । आदेशलगत्तै गायक कटुवाललार्इ जिल्ला कारागार चलान गरिएको छ । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।
गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा घाइते गुरुङकी छोरी सोनिकाले किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । फागुन २ गते शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि बान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन समेत भएको थियो । केही समय भनाभन भएपनि दुई पक्षबीच सहमती भई मिलापत्र समेत गरेर गायक पोखरा गएका थिए ।सोहि दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाईते भएका थिए ।
तपाइँको प्रतिक्रिया