कोरोना संक्रमण रोक्न भरतपुरमा तयारी तिव्र, मेयर दाहालको संयोजकत्वमा समन्वय समिति गठन
चितवन – छिमेकी राष्ट्र चीनबाट शुरु भई बिश्वभर फैलिदै गईरहेको नेवोल कोरोना भाईरसको संक्रमण हुन नदिन भरतपुर महानगरपालिकाले तयारी तिब्र बनाएको छ । कोरोनाको संक्रमण रोक्नका लागि महानगरपालिकाले कोरोना भाईरस रोकथाम तथा पूर्ब तयारी समन्वय समिति गठन गरेको छ ।
महानगरमा आज (शुक्रबार) बसेको सर्बपक्षिय बैठकले महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा कोरोना भाईरस रोकथाम तथा पूर्ब तयारी समन्वय समिति गठन गरेको हो । समितिमा महानगरकी उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सदस्य र महानगरको जनस्वास्थ्य प्रबर्धन शाखाका संयोजक सदस्य सचिब रहने गरी समिति गठन भएको हो ।
आज नै सबै वडाहरुमा वडा स्तरीय समन्वय समिति गठनका साथै सूचना मुलक कृयाकलापहरु गर्न गराउन आग्रह समेत गरेको छ ।बैठकमा सहभागी स्वास्थ्य शाखा सह संयोजक सूर्य तिवारीले कोरोना भाईरस रोकथाम तथा पूर्ब तयारी चिकित्सकीय टाक्स फोर्स गठन गर्ने निर्णय समेत भएको बताए । यस्तै महानगरपालिका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुमा आईसोलेसन वाड(छुट्टै कक्ष) तयारी अबस्थामा राख्न समेत आग्रह गरेको तिवारीले जानकारी दिए ।
बैठकमा जिल्लामा संक्रमणको खतरा र अपनाईएका साबधानीका बारेमा महानगरका स्वास्थ्य बिज्ञ डा. भोजराज अधिकारी, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्य, चितवन मेडीकल कलेजका निर्देशक डा. दायाराम लम्साल, निजी अस्पताल समन्वय समिति (अफिम)का नारायण सिंह कुवर, बिक्रम अधिकारी लगाएतले बोलेका थिए । सो बैठकले भरतपुर बिमानस्थलमा रहेको स्वास्थ्य परिक्षण कक्षलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया