एनओसि स्थगितपछिे बिद्यार्थी र परामर्शदाता मारमा

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी,

चितवन – पछिल्लो समय कोराना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले एनओसी(नो अब्जेक्सन सर्टिफिकेट) लेटर स्थगित गरेपछि विदेश पढ्न जाने बिद्यार्थी र परामर्शदाता मारमा परेका छन । कतिपय विद्यार्थीको भिषा प्राप्तभएपनि पढ्न जान नपाउनु र सिओई (कन्फर्ममेशन अफ इनरोलमेण्ट)आएपछि पनि एनओसी नपाएका कारण उनीहरु मारमा परेका हुन । जसका कारण परामर्शदाता चिन्तामा छन भने हजारौं विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । चितवनका सबै परामर्शसंस्थाहरुमा पनि विद्यार्थीको उपस्थिति न्यून भएको शैक्षिक परामर्श संघ चितवनले बताएको छ ।

‘शिक्षा मन्त्रालयले एनओसि स्थगित गरेपछि हामी थप आर्थिक भारमा परेका छौं, विद्यार्थाको भविष्य समेत अन्यौल भएको छ ।’ ईक्यान(शैक्षिक परामर्श संघ) नेपालका पुर्व केन्द्रीय सदस्य वाई.बी. पौडेलले भने । एनओसि लेटर नपाएपछि कलेज तथा युनिर्भसिटीको इनटेक सार्न अनुरोध गरेको उनले बताए । कतिपय विद्यार्थीको अग्रिम भर्ना फि र कलेज फि तिरिसकेका विद्यार्थीहरु थप चिन्तामा रहेको उनको भनाई छ । हाल उनको संस्थाबाट ६० जना भन्दा बढी विद्यार्थी जापान जान रोकिएको उनले जानकारी दिए ।

स्वास्थ्य जोखिमको कारण सरकारले अपनाएको सतर्कता सकारात्मक भएपनि यसले दुबैपक्षलाई दिर्घकालीन असर पर्ने डिलाईट एजुकेशन कन्सल्ट्यान्सीका संचालक सुजन थापा क्षेत्री बताउंँछन । ‘हामी व्यवसायीलाई त मार पर्नेनै भयो ,उनले भने , तर विद्यार्थी झन दोहोरो तेहेरो मारमा परेका छन।’ । उनका अनुसार कलेज तथा युनिभर्सिटीलाई बुझाउनु पर्ने एवं देखाउनुपर्ने रकमको निक्षेपको व्याजका कारण विद्यार्थीहरु थप मारमा परेका हुन ।

विद्यार्थीको भविष्य अन्यौल भएसंँगै व्यवसायी समेत अप्ठेरो अवस्थामा पुगेका छन । अधिकांश संस्थामा तयारी भाषा कक्षा समेत स्थगित गरिएको छ । काम नै नभएपछि हाल सबै संस्थाका सञ्चालक, परामर्शदाता , कर्मचारी, प्रशिक्षक समेत फुर्सदिला भएका छन ।

एनओसि स्थगित भएका कारण अफर लेटर मगाउने बाहेक अन्य प्रोसेसिङका कामहरु स्थगित भएको बताउंँछन ग्लोबल रिच कन्सल्ट्यान्सीका क्षत्रीय प्रबन्धक सुरेश पौडेल । ‘अबत घरभाडा र कर्मचारीलाई तलब दिनसमेत धौधौ परिसक्यो’ उनले भने । अष्ट्रेलिया भिषा प्राप्त गर्ने बिद्यार्थी, प्रोसेस गर्ने र भाषा तयारी गर्ने विद्यार्थी र उनीहरुका अभिभावक समेत चिन्तामा रहेको उनले बताए ।

संघका चितवन शाखा अध्यक्ष हिम्मत पुरी महामारीका कारण विश्वलाई नोक्सान पुगिरहेको बेला यसको असर बैदेशिक अध्ययन क्षेत्रमा स्वभाविक रुपमा परेको बताउंँछन । ‘असर र मार त परिसक्यो । हामी आत्तिहालेका छैनौ उनले भन,े हामी पर्ख र हेर को अवस्थामा छौं ।’ शैक्षिक परामर्शदाताहरुले नियमित तालिकामा गरिदै आएको शैक्षिक मेला, सेमिनारका कार्यक्रम समेत रद्ध गरिएको उनले जानकारी दिए । चितवनमा ईक्यानमा मात्र आवद्ध शैक्षिक परामर्श संस्था ६० वटा भन्दा बढी रहेका छन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू