चितवन – कारागारमा कोरोन भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै भेटघाटमा आउने आफन्तलाई कडाइ गरिएको छ । कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कारागारमा रहेका कैदीबन्दीका आफन्तलाई भेटघाट र प्रवेशमा कडाइ गरिएको हो ।
भेटघाटका लागि दैनिक १०० देखि २०० जनासम्म आउने गरेका छन् । उनीहरुलाई अनिवार्य माक्स लगाउनुपर्ने तथा भेटघाट र कुराकानी गर्दा केही दूरीमा रहेर गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण सङ्क्रमण चाँडो फैलन सक्ने भएकाले कडाइ गरिएको हो । पच्चीस महिलाको क्षमता भएको कारागारमा ५६ र चार आश्रित बालबालिका रहेका छन् ।
यस्तै २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६८२ जना छन् । धेरै जना सानो स्थानमा बस्नुपर्ने बाध्यता भएका कारण सङ्क्रमण भएमा चाँडो फैलने भएकाले कडाइ गर्नुपरेको उहाँले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनसँगै अन्य रोगको सङ्क्रमणसमेत बढ्ने खतरा भएको भन्दै उहाँले कारागारका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै भेटघाटका लागि आउनेलाई कडाइ गरिएको बताउनुभयो ।रासस