कुनै क्षेत्रमा कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी

एटुजेड समाचार

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमण देखा परे ‘लक डाउन’ गर्ने सरकारले तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने योजना बनाएको जानकारी दिए ।

देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना सरकारले बनाएको बताए । उनले भने, ‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’ आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्नसमेत सहकार्य गरिने उनले बताए ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । कोरोनाको संक्रमण देखिएपछि भारतले भोलिदेखि पर्यटक आवागमन रोकेको छ भने संक्रमण फैलिएका देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने भएको छ । अमेरिकाले पनि बेलायतबाहेक सबै युरोेपेली देशबाट अमेरिका यात्रा गर्न एक महिनासम्म रोक लगाउने निर्णय गरेको छ ।

नेपालले भने संक्रमण फैलिएको देशबाट आउनेलाई कोरोना संक्रमण नभएको भनेर दिइएको सात दिन ननाघेको प्रमाणपत्र ल्याउनुपर्ने निर्णय गरेको छ । तर कोरोना संक्रमण रोकथाम र भविष्यमा देखिएको अवस्थामा उपचार गर्न सरकारको पूर्वतयारी नपुगेको भनेर सरकारको आलोचना भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु