काठमाडौं – सांसदहरुले कोरोना भाइरसको डर देखाएर कालोबजारी गर्नेलाई तत्काल कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् ।
प्रतिनिधि सभा संसदको विशेष समयमा बोल्दै सत्तारुढ दलका सांसद खगराज अधिकारीले आज विश्व नोभल कोरोना भाइरसबाट त्रसित भएको र नेपाल पनि त्यो त्रासबाट छुटकारा हुन नसकेको बताए ।
उनले यही मौकामा कृतिम अभाव खडा गरिएको भन्दै त्यस्ता व्यवसायीलाई कडा कारवाही गर्न माग गरेका हुन् । यस्तो अवस्थामा कालो बजारी गर्ने र आपूर्तिमा समस्या सिर्जना गर्नेलाई तुरुन्तै सरकारले कारवाही गर्नुपर्ने अधिकारीले बताएका हुन् ।
उनले स्वास्थ्य कर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित कपडाको अभाव देखिएकाले यसको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरे ।
सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे ।