माेरङ – आफू अपहरण परेको नाटक गर्दै बावुसँग फिरौती लिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नाटकीय घटनामा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।
यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन ३० लाख रुपैयाँ चाहिने सूचनासहित बुवाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । छोराको मायाले बुवा शिवनारायणले २१ लाख रुपैयाँ फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।
फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको हाे । अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो ।
प्रहरीले कृष्णबाट नगद १६ लाख ५३ हजार रुपैयाँ र तीन लाख रुपैयाँको चेक पनि बरामद गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।