रहेनन् पूर्वमन्त्री शेर्मा

काठमाडौं – पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ।
काठमाडौँको निदान हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो। दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए।
विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए। उनले नेपाली कांग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए।
विसं २०५७ मा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्मा जिल्ला सभापतिमा निर्वाचित भएका थिए। यस्तै उनी दुईपटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचितसमेत भएका थिए।
शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आएका थिए। उनका दुई छोरा र पाँच छोरी छन्।
रासस
तपाइँको प्रतिक्रिया