चितवनमा चैत्र २ गतेदेखी दादुरा-रुवेलाको खोप लगाईने

एटुजेड समाचार

चितवन – चितवनमा चैत्र २ गतेदेखी दादुरा रुवेला खोप अभियान शुरु हुने भएको छ । दुई चरणमा गरी हुने अभियान चैत्र १८ गतेसम्म चल्ने जिल्ला स्वास्थ्य कार्यालय खोप समन्वयन समिति चितवनले जानकारी दिएको छ । ९ महिना पुरा भई ५ बर्ष नकटेका बालबालिकाहरुलाई यो खोप लगाइने समिति जनाएको छ ।

पहिलो चरणमा चितवनको ५ स्थानिय तहमा दादुरा रुवेलाको खोप लगाईने समितिले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाँउपालिकामा पहिलो चरणमा खोप लगाईने समितिका खोप अधिकृत दिपक प्रसाद तिवारीले बताए । पहिलो चरणको खोप अभियान चैत्र २ गते देखी ७ गतेसम्म हुनेछ ।

यस्तै दोस्रो चरणमा खैरहनी र राप्ती नगरपालिकामा खोप लगाईने तिवारीले जानकारी दिए । खैरहनीमा चैत्र १० देखी १४ तथा राप्तीमा १० देखी १८ गतेसम्म अभियान सन्चालन हुने उनले जानकारी दिए । नियमित खोप कार्यक्रमलाई असर नगर्ने गरी अभियान शुरु गर्न लागिएको उनले बताए ।

जिल्लाभर कुल ५८ हजार ९ सय ८३ जना बालबालिकाहरुलाई यो खोप लगाउने लक्ष्य राखिएको तिवारीले बताए । यसका लागि जिल्लाभर ५६८ खोपकेन्द्र रहने उनले बताए । यो अभियानको लागि १३२ जना खोप कार्यकर्ता र एक हजार एक सय ३६ जना स्वयंसेवक परिचालन गरिनेछ ।

भरतपुर महानगरपालिका भित्र २६ हजार ३ सय ८१ जना बालबालिकाहरुलाई यो खोप लगाउने लक्ष्य राखिएको छ भने २५९ वटा खोप केन्द्र रहनेछ । यस्तै रत्ननगर नगरपालिकाको ६३ खोप केन्द्रबाट ५ हजार ९ सय ८७, कालिकाको ४२ खोप केन्द्रबाट ५ हजार ३ सय ६९, खैरहनीमा ५२ खोप केन्द्रबाट ५ हजार ३९, राप्तीमा ६७ खोप केन्द्रबाट ७ हजार ५ सय ८२, माडीमा ४४ खोप केन्द्रबाट ४ हजार ६ सय ३२ र इच्छाकामना गाँउपालिकामा ४१ खोप केन्द्रबाट ३ हजार ९ सय ९३ जना बालबालिकाहरुलाई दादुरा रुवेलाको खोप लगाउने लक्ष्य राखिएकोछ ।

लक्षित बालबालिका मध्य ९५ प्रतिशतलाई खोप लगाइने समितिले जनाएको छ । खोप लगाउनबाट कुनै पनि बालबालिका नछुटुन भन्नका लागि यस पटक अभिभावकहरुलाई निमन्त्रणा नै पठाइएको छ । यस्तै खोप लगाउने सबै बालबालिकाहरुलाई प्रमाणपत्र पनि दिईनेछ । अभिभावकलाई निमन्त्रणा र खोप लगाएको प्रमाणपत्र चितवनमा नै पहिलो प्रयास भएको खोप अधिकृत तिवारीले बताए ।

चितवनमा बर्ष २०२० मा अहिलेसम्म जम्मा ४ जना बालबालिकामा दादुरा भेटिएको तिवारीले बताए । यस अघी २०१९ मा १९ जनामा दादुरा देखिएको थियो भने २०१७-१८ मा कुनै पनि बालबालिकामा दादुरा देखिएको थिएन ।

भरतपुर अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डा युवानिधी बसौलाले चितवनमा केही बालबालिकामा दादुरा देखिए पनि रुवेला भने खास्सै नभेटिएको जानकारी दिए । यस्तै उनले पहिलो पटक खोप लगाएको बालबालिकाहरुमा दादुरा देखिए पनि दोस्रो पटकको खोप लगाएपछी त्यसलाई निर्मुल गर्न सकिने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू