चितवनमा पुजारीको भेषमा चोरी गर्ने नाइकेसहित ६ जना पक्राउ

चितवन – पुजारीको भेषमा घरघर गएर पुजा,स्वस्ति शान्ति लगायत कर्मकाण्ड गरिदिन्छु भनी चोरी गर्ने भारत मोतियारीका नेहाल तिवारी सहित ६ जना व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेहरुमा भारतकै पूर्वी चम्पारण बस्ने राजकुमार उपाध्याय, भारत अरेराज जिल्लाका विक्की भनिने सोनुकुमार पाण्डे , भारत मोतिहारीकै विपुल भन्ने ऋतिक रोशन,सोही ठाउंँकै विक्की कुमार गुप्ता रहेका छन । यस्तै गरगहना खरिद गर्ने विरगंजका व्यवसायी राजकुमार गुप्तालाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुहरुको साथबाट नगद र गरगहना गरी १४ लाख ८७ हजार ५सय बराबरको धनमाल बरामद गरेको छ । आज जिल्ला प्रहरी कार्यालय चितवनले यहांँ पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले उनीहरुलाई फागुन २४ गते नारायणगढबाट पक्राउ गरिएको बताउनु भयो । उहांँका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको मञ्जु खांँडको घरबाट फागुन २३ गते उक्त परिमाण बराबरको धनमाल चोरी भएको थियो । उनीहरुलाई नारायणगढबाट फागुन २४ गते पक्राउ गरिएको थियो । चोरीका मुख्य योजनाकार तिवारी पुजारीको भेष गरी विभिन्न घरमा सस्तो र राम्रो तरीकाले पुजा, कर्मकाण्ड, स्वस्तिशान्ति गर्दिन्छु भन्दै घरमा रहेका धनमालको रेकी गर्ने गरेको र सोही जानकारीको आधारमा चोरी गर्ने समुह भाडामा लिई चोरी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पुजारी भनिने तिवारीले उक्त समुह परिचालन गरी राती ८ बजे खांँडका परिवार खाना खान भान्सामा रहेको मौका छौपी चोरी गरेको गुरुङले बताए । चोरीमा संलग्न पांँच जनालाई ५ देखि १० बर्ष कैद र ५० हजार देखि १ लाख जरीवाना हुने र गहना खरीद गर्ने गुप्तालाई ५ बर्ष र कैद र ५० हजार जरीवाना हुने प्रहरी प्रमुख गुरुङले बताउनु भयो । यसैबीच प्रहरीले कार्यक्रममा २३ वटा चोरी भएको मोवाइल घरधनीलाई फिर्ता गरेको थियो ।
तपाइँको प्रतिक्रिया