आपूर्तिमन्त्रीकै आफन्तको घरमा १५ सिलिन्डर

काठमाडौं । बजारमा ग्यासको अभाव भइरहेको गुनासो सर्वसाधारणले गरिरहँदा मन्त्रीकै आफन्तको घरमा भने १५ वटा सिलिन्डर रहेको पाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको एक आफन्तकै घरमा १५ वटासम्म ग्यास सिलिन्डर रहेको मन्त्रीले नै मन्त्रालयका अधिकारीलाई बताएका हुन् । मन्त्री भट्ट एक आफन्तको घरमा जाँदा ग्यास पाइएन भनेर गुनासो गरेपछि मन्त्री भट्टले कतिवटा सिलिन्डर छ ? भनेर सोध्दा १५ वटा भनेको मन्त्रीले नै आफूलाई बताएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राजधानीमा मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार सरकारी अधिकारीहरू समेतलाई राखेर आपूर्ति व्यवस्थाको विद्यमानस्थिति बारेमा गरेको छलफलमा सचिव अर्यालले अनावश्यक रूपमा भण्डार गर्ने परिपाटी सर्वसाधारणमा देखिएको बताए । उनले मन्त्री भट्टको कुन आफन्तको घरमा १५ सिलिन्डर रहेको हो भन्ने विषयमा भने खुलाएनन् ।
यस्तै उनले बिदाको दिनमा मन्त्री र आफू उपत्यकाको विभिन्न स्थानको निरीक्षण गर्ने क्रममा एउटै परिवारले ५० किलो नुन, १ हजार ट्वाबलेट सिटामोललगायत वस्तु खरिद गरेको पाइएको पनि बताए । उनले कारबाही गर्ने मनसायले नभई बजारको स्थिति बुझ्न बजारको निरीक्षण गर्ने क्रममा आवश्यकभन्दा बढी खाद्यान्नलगायत औषधि स्टक राख्ने प्रवृत्ति बढेको बताए ।
तपाइँको प्रतिक्रिया