चितवनमा होली : ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय सवारीसाधन कारवाहीमा

एटुजेड समाचार

चितवन – रंगहरुको पर्व होलीको समयमा चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ सय बढी सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सोमबार र मंगलबार दुई दिन ट्राफिक नियम उल्लङ्घन गर्ने २ सय बढी सवारी साधनलाई कारबाही गरेको हो ।

होलीको पहिलो दिन सोमबार १५५ वटा सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । सोमबार मादक पदार्थ सेवन गरी चलाउने २५ वटा मोटरसाइकललाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै बस, पिकअप भ्यान, कार र अटोलाई पनि कारबाही गरिएको छ । सोमबार नै जथाभावी चलाऊने, क्षमताभन्दा धेरै यात्रु राखेर चलाउने र ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने १२५ जना सवारी चालकलाई कारबाही गरिएको छ ।

यस्तै आज (मंगलबार) ४१ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जथाभावी चलाऊने, क्षमताभन्दा धेरै यात्रु राखेर सवारी चलाउने, ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने २८ चालकलाई कारबाही गरिएको छ । यस्तै मादक पदार्थ सेवन गरी चलाउने १० जना मोटरसाइकल चालक, २ अटो चालक र एक बोलेरोलाई पनि काराबही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने केही सवारी साधनलाई कारबाही गरिए पनि अप्रिय घटना भने नभएको चितवनका ट्राफिक प्रहरी प्रमुख दया कृष्ण भट्टले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू