नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन चीन तयार

एटुजेड समाचार

काठमाडौं – नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन चीन तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने बताउनुभयो । उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गरिन् ।

भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवका बारेमा पनि जानकारी दिईन् । राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताईन् । मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गरिन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच, अस्पतालहरुमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था लगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु