शेयर बजारमा नकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो

एटुजेड समाचार

काठमाडौं – शेयर बजार आज फेरि नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो ।

बजार खुलेदेखि नै निरन्तर रुपमा घट्दै गएको बजार दुई घण्टा १३ मिनेट जाँदा ६ प्रतिशत भन्दा बढीले घटेको थियो । नियमानुसार एकैदिन ६ प्रतिशत भन्दा बढीको घटबढ देखिएमा सो दिनको लागि सम्पूर्ण कारोबार बन्द गर्नुपर्छ ।

सोही कारण आजको लागि सबै कारोबार बन्द गरिएको हो । उक्त अवधिमा १ अर्ब ७ करोड रुपैंया बराबरका २७ लाख ३५ हजार कित्ता शेयर कारोबार भएका थिए ।

मंगलबारको बेयरिस बजारमा १२ वटै समूहका उपसूचकहरु घटेका छन् । २ घण्टाको कारोबार अवधिमा १६१ ओटा स्क्रिपको कारोबार भएकोमा १४६ ओटाको मूल्य घटेको छ । ७ ओटाको बजारमूल्य स्थिर हुँदा बाँकी ९ ओटा कम्पनीको शेयरमूल्य आज बढेको छ ।

१२ वटा उपसूचकमध्ये सबैभन्दा बढी गिरावट जीवनबीमा समूहमा आएको छ । उक्त समूहको सूचक ९.१ प्रतिशतले घट्दा व्यापारमूलक, होटेल र बैंकिङ समूहको सूचकमा पनि ६ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । निर्जीवन बीमा समूह ५ प्रतिशतको हाराहारीमा घट्दा अन्य सूचक भने त्योभन्दा कमले मात्रै घटेको छ ।

मंगलबारको बजारमा १२ ओटा कम्पनीले ९ प्रतिशत भन्दा बढीको मूल्य गुमाएका छन् । सबैभन्दा बढी मूल्य घट्नेमा लाइफ इन्स्योरेस कम्पनी, नेको इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, नेशनल लाइफ, मञ्जुश्री फाइनान्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, छिमेक लघुवित्त, शिवम् सिमेन्ट, नाडेप लघुवित्त, युनाइटेड इन्स्योरेन्स लगायत छन् । गत मार्च २ मा पनि नेप्से परिसूचक एकैदिन करिब ९६ अंक घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू