प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने

एटुजेड समाचार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले बुधबार सम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन् ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना रहेको उपचारमा संलग्न डाक्टर पवन चालिसेले  जानकारी दिए ।

उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ, सामान्यतया मिर्गौला प्रत्यारोपण पछि कुनै जटिलता देखिएन भने प्रत्यारोपण गरीएको एकसातामा बिरामीको डिस्चार्ज हुन्छ,’ डा चालिसेले भने, ‘उहाँको (प्रधानमन्त्रीको) पनि अहिलेसम्म कुनै जटिलता आएको छैन, स्वास्थ्य अवस्थामा धेरै राम्रो सुधार भइरहेको छ, त्यसैले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना अधिक छ ।’

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज ६ दिन पूरा भइसकेको छ ।

डा चालिसेका अनुसार टिचिङ अस्पतालमा हरेक बुधबार दुईजना व्यक्तिको मिर्गौला प्रत्यारोपण हुन्छ । मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्थामा राम्रो भएमा अस्पतालले प्रत्यारोपण गरेको ५ दिनमै समेत डिस्चार्ज गर्ने गरेको छ ।

‘हाम्रो अस्पतालमा हरेक बुधबार दुईजनाको मिर्गौला प्रत्यारोपण हुन्छ, मिर्गौला प्रत्यारोपण गरेको बिरामीको स्वास्थ्य अवस्था धेरै राम्रो हुँदै गएमा सोमबार डिस्चार्ज गथ्र्यौं,’ डा चालिसेले खबरहबसँग भने, ‘हरेक बुधबार अर्को दुईजनाको मिर्गौला प्रत्यारोपण गर्ने बिरामी तयारी अवस्थामा हुने भएकाले ट्रान्सप्लान आइसियुबाट बिरामी एक सातामा डिस्चार्ज भइसक्छन् ।’

प्रधानमन्त्री ओलीलाई भने ट्रान्सप्लान्टको आइसियुमा राखिएको छैन । प्रधानमन्त्री ओली अहिले लिभरतर्फको आइसियुमा रहेको डा चालिसेको भनाइ छ । त्यसैले आगामी बुधबार पनि त्रिवि शिक्षण अस्पतालमा दुई जनाको मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने प्रधानमन्त्री ओलीकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको चिकित्सकहरुले बताएका छन् । संग्रौलाको स्वास्थ्य अवस्था हेरेर भोलि नै डिस्चार्ज गर्ने तयारी समेत भएको डा चालिसेले बताए । खबरहबबाट

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु