चितवन – कुनै पनि ठुला पर्वको लागि नारायणी नदी किनार पहिलो रोजाईमा पर्ने स्थान हो । चाहे ठुला कायक्रम नै गर्न पर्ने होस् या कुनै पर्व मनाउन, उपयुक्त स्थान हो नारायणी नदी किनार ।
रंगै रंगको पर्व फागु पुर्णिमा अर्थात होली मनाउनका लागि पनि बर्षौ देखी नारायणी नदी किनार धेरैको रोजाईमा पर्दै आईरहेको छ । हरेक बर्ष होली मनाउनका लागि हजारौंको संख्यामा मानिसहरुको भिड लाग्ने गर्दथ्यो । यस्तै हरेक बर्ष नारायणी नदी किनारमा होलीको अवसरमा संगीतिक कार्यक्रम हुने गर्दथ्यो । मानिसहरु संगीतमा झुम्दै होली मनाउने गर्दथे ।


यस बर्षको नारायणी नदी किनारको दृश्य केही फरक देखियो । हरेक बर्ष रंगहरुले रंगिने नारायणी किनार यस पटक भने केही फिक्का देखियो । विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरसले यस पटकको होलीलाई खल्लो बनायो । रंगहरुको पर्वलाई कोरोनाले फिक्का बनायो । सँगै हरेक बर्ष रंगिन हुने नारायणी नदी किनारलाई पनि ।
बिगतका बर्षमा नारायणी नदी किनारमा होलीको दिन बिहानैबाट मानिसहरुको घुइँचो लाग्ने गर्दथ्यो । जुन यस बर्ष देखिएन । आज मध्यान्नसम्म पनि नारायणी नदी किनर सुनसान थियो । पछील्लो केही बर्षयता नारायणी नदी किनारमा होलीको दिन पहिलो पटक यस्तो दृश्य देखियो ।
दिउँसो मानिसहरु फाट्ट फुट्ट रुपमा नारायणी नदी किनार पुगे । साँझसम्म नारायणी किनारमा होली मनाउनेहरुको चहलफल केही बढे पनि अघिल्लो बर्षहरुको तुलनामा अत्यन्त न्युन थियो । साथै यस बर्ष नारायणी किनार होली बिशेष कुनै पनि कार्यक्रम भएन ।
कोरोना भाइरसको त्रासको कारण खास्सै मानिसहरु होली मनाउनका लागि घरबाट निस्किन चाहेनन् । नारायणी किनारमा पुगेकाहरुले पनि खास्सै दिल खोलेर होली मनाएको पाईएन । होलीको पोषाक र अनुहारमा रंग लगाएका केही मानिसहरुको उपस्थितीले होलीको झल्को दिए पनि वास्तविक होलीको रंग भने छर्न सकेन ।
भिडभाडमा जाँदा र चिसोमा रुझ्दा कोरोना संक्रमण हुने सम्भावना प्रवल रहने भएकोले नै मानिसहरु यस पटक खास्सै कुलेर होली खेल्न चाहेनन् । कोरोना भाइरसको सँक्रमणबाट सुरक्षित रहन चितवन प्रशासनले सामुहिक रुपमा होली नमनाउन आग्रह गरेको थियो । यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रंग प्रयोग नगर्न प्रशासनले आह्वान गरेको हो । यस कारण पनि मानिसहरु यस पटक घरमै बसेर परिवारसँग नै होली मनाए ।
प्रशासनको आग्रह अनुसार नै चितवनमा यस पटक बिगतको बर्षहरुमा जस्तो होलीका कार्यक्रमहरु आयोजना भएनन् । यस्तै बिगतमा चोक चोकमा जम्मा भएर होली मनाउने गरिए पनि यस बर्ष भने त्यस्तो देखिएन ।
विश्वमा नै महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न प्रशासनले यस पटकको होली सदा भन्दा फरक तरिकाले मनाउन आग्रह गरेको हो । प्रशासनले घर परिवार मै शुभकामना आदन प्रदान गर्दै होली परिवार भित्र मात्र मनाउन आग्रह गरेको हो ।यस्तै प्रशासनले होलीको अवसरमा कुनै पनि सामुहिक कार्यक्रम नगर्न नगराउन तथा सामुहिक रुपमा भेला भई होली नमनाउन पनि आग्रह गरेको थियो ।