चितवन – नयाँ भर्ना भएका प्रहरी सहायक निरीक्षक (असई) हरूलाई बन्दुक चलाउन सिकाउने प्रहरी निरीक्षक किरण राउतले आफ्नी प्रेमिकालाई फायरिङ गर्न दिएको खुलेको छ । चितवनको भरतपुरस्थित तालिम शिक्षालयमा प्रहरी सहायक निरीक्षकहरूलाई नजिकैको फायरिङ रेन्जमा लगिएको थियो ।
फायरिङका बेला बाहिरबाट मानिसहरू फाइरिङस्थलमा लैजान पाइँदैन।त्यो दिन असईहरूलाई फायरिङका लागि २० राउण्ड गोली छुट्टाइएको थियो। असईहरूका लागि छुट्याइएका तिनै गोलीबाट राउतले आफ्नी प्रेमिकालाई फायरिङ गर्न दिएको स्रोतले जानकारी दिएको छ ।


प्रहरीले यो घटनामा राउतलाई सचेत गराएर सामसुम पार्न खोजेको थियो । भरतपुर तालिम शिक्षालयका प्रमुख एसएसपी बुद्धिराज गुरूङले फौजमा कहिलेकाहीँ प्रशिक्षकले आफूले नहानेर आफन्तलाई गोली हान्न दिने चलन पहिलादेखि नै रहेको बताए। यसलाई सामान्य रूपमा लिनु पर्ने उनको भनाइ छ। तर पछिल्लो समय यस्तो चलनलाई आफूहरूले निरूत्साहित गर्ने गरेको एसएसपी गुरुङले बताए।
प्रहरी तालिम शिक्षालय हेर्ने बागमती प्रदेशका प्रहरी प्रमुख किशोरकुमार दाहालले यस विषयमा कुनै जानकारी नआएको बताए । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले यसरी प्रशिक्षकले बाहिरी मानिस फायरिङ रेन्जमा लगेर गोली हान्न दिन नमिल्ने बताए । सेतोपाटीबाट