चितवन – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । यस बर्षको होली बिगतको भन्दा फरक तरिकाले मनाँईदैछ । चितवनमा पनि यस बर्षको होली बिगतका बर्षमा भन्दा फरक मनाँईदैछ ।
कोरोना भाइरसको सँक्रमणबाट सुरक्षित रहन चितवन प्रशासनले सामुहिक रुपमा होली नमनाउन आग्रह गरेको थियो ।यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको हो । प्रशासनको आग्रह अनुसार नै चितवनमा यस पटक बिगतको बर्षहरुमा जस्तो होलीका कार्यक्रमहरु आयोजना भएका छैनन् ।
यस बर्ष अधिकांशले परिवारसँग घरमा नै होली मनाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले बिगतमा जस्तो यस बर्ष सामुहिक रुपमा होली मनाउने गतिविधी खास्सै नदेखिएको बताए । कोइरालाले प्रशासनको आग्रहलाई जनताले सहर्स रुपमा स्विकारेको बताए ।
होलीमा शान्ती सुरक्षालाई मध्यानजर गर्दै सम्भावित स्थानहरुमा प्रहरी परिचालन गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, मोबाइल प्रहरी लगायतले बिभिन्न ठाउँ संयुक्त चेक जाँच गरिरहेको उनले बताए । जिल्लामा अहिलेसम्म त्यस्ता कुनै पनि उत्श्रृखल गतिविधी नभएको उनले जानकारी दिए ।
बिगतमा होली खेल्नेहरुको भिड लाग्ने नारायणी नदी किनार यस बर्ष भने सुनसान जस्तै रहेको छ । यस्तै बिगतमा चोक चोकमा जम्मा भएर होली मनाउने गरिए पनि यस बर्ष भने त्यस्तो देखिएको छैन । आज मानिसहरु घर बाहिर खास्सै निसकेका छैनन् । यस्तै निजी सवारी साधनहरु पनि कमै मात्रा चलेका छन् ।
विश्वमा नै महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न प्रशासनले यस पटकको होली सदा भन्दा फरक तरिकाले मनाउन आग्रह गरेको हो । प्रशासनले घर परिवार मै शुभकामना आदन प्रदान गर्दै होली परिवार भित्र मात्र मनाउन आग्रह गरेको हो ।यस्तै प्रशासनले होलीको अवसरमा कुनै पनि सामुहिक कार्यक्रम नगर्न नगराउन तथा सामुहिक रुपमा भेला भई होली नमनाउन पनि आग्रह गरेको छ ।