ठगी आरोपमा अनमोलको स्पष्टिकरण : जुनसुकै बेला पैसा फिर्ता गर्न तयार

चितवन – ५ लाख ठगीको आरोप बारे अभिनेता अनमोल केसीले स्पष्टिकरण दिएका छन् । सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस लेख्दै अनमोलले आफु माथि लागेको लाख ठगीको आरोप बारे स्पष्टिकरण दिएका हुन् ।
उनले चलचित्रको छायांकनको लागि काठमाडौं बाहिर रहेको बेला आफु माथि लागेको ठगीको आरोपले स्तब्ध भएको बताएका छन् । उनले चलचित्रको निर्माण पक्षलाई साइनिङ अमाउन्ट बापत लिएको लाख रुपैँया कुनै पनि बेला फिर्ता गर्न तयार रहेको बताएका छन् । उनले साइन गर्नु अघी सुनेको वानलाइन भन्दा स्क्रिप्ट निकै फरक परेकोले आफुले चलचित्र नगरेको बताएका छन् ।
उनले लेखेका छन् – “फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ? तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् ।”
उनले विश्वासको आधारमा वान लाइन स्टोरी सुनेर चलचित्र साइन गरेको बताएका छन् । “मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भयो” उनले लेखेका छन् ।
चलचित्रमा अभिनय गर्ने भनी पेश्की लिएर पनि पछी हटेको भन्दै अनमोल बिरुद्द ठगीको उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिले निर्माण गर्ने भनिएको चलचित्र ‘धुपौरो’ को लागि ५ लाख पेश्की लिएर पनि अभिनय नगरेपछी महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगीको उजुरी परेको हो । अनमोलसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि अनमोलले चलचित्र नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया