सुशील पन्त,
चितवन – केभिन कार्यक्रम सकेर घर फर्किदा जहिले पनि मध्यरात हुन्थ्यो । एक त मध्यरात त्यही माथि हाइ वेमा मोटरसाइकलको यात्रा, बुवा आमाको मन आत्तिने नै भयो ।
केभिन घर नपुग्दासम्म न बुवा आमा नै निदाउन सक्थे न त हजुरआमा नै । बुवा खुम बहादुर तामाङ, आमा बिना पुन तामाङ र हजुरआमा जइसरा पुन मगरलाई केभिन घर नपुग्दासम्म आँखामा निन्द्रा नै पर्थेन ।
छोरो कतिबेला घर आईपुग्ला भन्ने चिन्ता बुवा र आमालाई सधैं लागिरहथ्यो । अझ बिशेष गरी आमा र हजुरआमालाई । केभिन राती राती कार्यक्रम गर्न हिड्दा मनमा सधैं पिर लाग्ने हजुरआमा जइसरा बताउनुहुन्छ । “बाबु ब्याण्डमा सामेल भएपछी राती राती गीत गाउँन हिड्दा मलाई एकदमै पिर लाग्थ्यो उहाँले भन्नुभयो,’मैले सधैं भन्थे बाबु यती राती राती घर फर्किदा मलाई डर लाग्छ ।”
मध्यरातमा कार्यक्रम सकेर फेरी एका बिहानै कलेज जानु पर्दा नातीलाई साह्रै गाह्रो भएको आफुले महसुस गर्ने गरेको जईसारा बताउनुहुन्छ । “गीत गाएर राती १२ बजेपछी मात्र घर आईपुग्थ्यो उहाँले भन्नुभयो,’फेरी बिहान ६ बजे उठेर कलेज जान्थ्यो । बाबुलाई साह्रै दु:ख भए जस्तो मलाई लागिरहन्थ्यो ।” एक समय त नातीको दु:ख हेर्न नसकेर संगीत नै छोड्न भनी आग्रह गरेको जईसारा बताउनुहुन्छ । “बाबुलाई गाह्रो भएको देख्दा मैले बाबु यो काम छोड्देउ, पहिला पढाई पुरा गर अनी जे गरे पनि गर भन्थे – उहाँले थप्नु भयो ।
तर राती राती कार्यक्रममा गएर र मध्यरातमा फर्किने नातीले अहिले गरेको प्रगती देखेर जइसरा दङ्ग पर्नु भएको छ । यही दिनको लागि नाती राती राती कार्यक्रममा गएर मेहनत गर्ने गरेको आभास उहाँलाई अहिले भईरहेको छ । नातीको प्रगती देखेर उहाँको मुहारमा छुट्टै चमक छ । उहाँको अब नातीलाई नेपाल आईडल ३ को बिजेता बनेको हेर्ने ठुलो धोको छ ।
नातीलाई हौसला दिनका लागि उहाँ हिजो (शुक्रबार) को शोमा नेपाल आईडल ३ को स्टेजमा नै पुग्नु भयो । त्यहाँ पुगेर जइसराले नातीलाई हौसला दिनका लागि गीत पनि गाउँनु भयो । सँगै आशिर्वाद पनि । उहाँले आज फेरी नातीलाई थप हौसला दिनका लागि अर्को गीत गुनगुनाउनु भयो ।
“मेरो नाती आइडलमा गाएको
आज मलाई क्या खुशी लाएको
माछी काँडैले नजर लाउनीमा छेक्यो डाँडैले !”
यो गीत उहाँले नातीलाई हौसला दिनका लागि गाउनु भएको हो ।
केभिनका बुवा छोरा राती राती कार्यक्रम सकेर घर फर्किदा चिन्ता लागे पनि त्यसैलाई मेहनत मान्नुहुन्छ । “राती अबेर घर फर्किदा हाईवेको बाटो हो अली अली पिर त लाग्छ नै उहाँले भन्नुभयो,’तर मेहनत र दु:ख भनेकै त्यही त हो नि ।” दु:ख नगरी सुख नपाईने भन्दै उहाँले छोराले अहिले त्यही मेहनतको फल पाईरहेको बताउनुभयो । केभिनलाई राती कार्यक्रममा जान रोक्नु भन्दा पनि सजग हुन भने बेला बेलामा सम्झाईरहने गरेको उहाँ बताउनुहुन्छ ।
केभिनकी आमा बिनाको मनमा अझै धेरै पिर लाग्थ्यो । छोरालाई सकेसम्म रातीको कार्यक्रम नगर्न आफुले धेरै पटक आग्रह गरेको उहाँ बताउनुहुन्छ । “बाबु जहिले पनि १२-१ बजे तिर घर फर्किन्थ्यो उहाँले भन्नुभयो,’ आमा (केभिनको हजुरआमा) र मैले बाबुलाई राती चाँही नगर, सकिन्छ भने दिउँसोमा गर भनेर धेरै चोटि सम्झाएका थियौं ।”
छोरा कार्यक्रम सकेर घर नआइपुग्दासम्म निन्द्रा नै नलाग्ने उहाँ बताउनुहुछ । “बाबु घर नआउदा सम्म निन्द्रा नै लाग्थेन उहाँले भन्नुभयो,’ उसलाई धेरै पल्ट फोन गर्थे र बाबुले आउँदै छु नआत्तिनु भन्थ्यो ।”
राती कार्यक्रममा हिंड्ने छोराको सफलता देखेर उहाँको मन अहिले भने आनन्दित हुन्छ । पढाई र संगीतको लागि समय मिलाउन निकै गाह्रो भएपनी छोराले धेरै मेहनत गरेकोले नै अहिले त्यसको फल पाईरहेको उहाँको बुझाई छ ।
डिस्टर्ब गर्न चाहन्नौ
केभिनसँग परिवारले राम्रोसँग कुरा गर्न नपाएको लामो समय भएको छ । छोरासँग धित मर्ने गरी कुरा गर्न नपाउदा थोरै दु:ख लागेपनी अहिले डिस्टर्ब गर्न नचाहने केभिनका बुवाआमा बताउनुहुन्छ ।
‘राम्रोसँग कुरा नभएको धेरै भयो बुवा खुम बहादुरले भन्नुभयो,’ तर अहिले बाबुको ध्यान संगीतमा छ । उ मेहनत गरिरहेको छ । अहिले हामी डिस्टर्ब गर्न चाहन्नौ । उसले नेपाल आइडल जितेको हेर्न चाहन्छौ ।” कहिले काही भने म्यासेन्जरमा छोरासँग कुरा हुने गरेको उहाँले बताउनु भयो । त्यो पनि छोटो ।
केभिनकी आमा बिनाको पनि छोरासँग खास्सै कुरा हुँदैन । तर उहाँ छोरा नेपाल आइडल जित्नका लागि मेहनत गरिरहेकोले डिस्टर्ब गर्न नचाहने बताउनुहुन्छ । ‘उसलाई अहिले गीतहरुमा ध्यान दिनु छ उहाँले भन्नु भयो,’बाबु अझै धेरै माथि गएको हेर्न चाहन्छु ।”
राम्रोलाई भोट गर्न अपिल
केभिन अहिले नेपाल आइडलको उत्कृष्ट ६ मा पुगिसकेका छन् । केभिनलाई यो भन्दा अझै माथि पुर्याउन केभिनका बुवाले सबैलाई सक्दो भोट गर्न आग्रह गर्नु भयो । यस्तै उहाँले भोट गर्दा हाम्रोलाई भन्दा पनि राम्रोलाई छान्न आग्रह गर्नु भयो । उहाँले केभिनको प्रस्तुती मन परे भोट गरेर नेपाल आइडल बनाउन सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
केभिन प्रतिभाको खानि
हाल नेपाल आइडलमा प्रतिस्पर्धा गरिरहेका केभिनको आफ्नै ब्याण्ड छ । उनको ब्याण्डको नाम हो ‘दि अक्टेव’ । ब्याण्डका सदस्यहरु केभिन धेरै प्रतिभावान व्यक्ती भएको बताउछन् । ‘दि अक्टेव’ ॠदम गीटारिस्ट स्वर्णिम घिमिरे केभिनको आगमन सँगै ब्याण्डले धेरै प्रगती गरेको बताउनुहुन्छ । केभिनको आगमनपछी ब्याण्डले धेरै कार्यक्रमहरु पाएको उहाँको भनाई छ । केभिनसँग नेपाल आइडल जित्न सक्ने क्षमता भएको भन्दै घिमिरेले भोट गर्नका लागि सबैलाई आग्रह गर्नु भयो । यस्तै ब्याण्डकै अर्का सदस्य तथा ब्याण्डका बेस गीटारिस्ट रजत श्रेष्ठले पनि केभिनलाई नेपाल आइडल जिताउनका लागि सक्दो भोट गर्न सबैलाई आग्रह गर्नुभयो । केभिनलाई नेपाल आइडलको बिजेता बनाउन बिभिन्न कार्यक्रम गर्दै आउनुभएका विवेक अंगाई र बिशाल ओझाले पनि भोट गर्न अपिल गरे ।
पुर्वी चितवनको पर्साका केभिन ग्लान तामाङ नेपाल आइडलका एक प्रतिस्पर्धी हुनुहुन्छ । वीरगंज अडिसनबाट छनोट हुनुभएका केभिन अहिले नेपाल आइडलको उत्कृष्ट ६ मा पुग्नु भएको छ । उत्कृष्ट ६ मा केभिनसँगै काठमाडौंकी मेघा श्रेष्ठ, मोरङकी सज्जा चौलागाई, पोखराका नेशन पुन मगर, पोखराकै मुक्सान रानाभाट र बर्दियाका प्रविन बेड्वाल रहेका छन् ।
तस्बिर : प्रेम सापकोटा (किरण)/एटुजेड समाचार