स्वास्थ्यमन्त्री ढकाल भन्छन् : कोरोनाविरुद्ध हिजोको जति सावधानीले नपुग्ने भयो

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगिन विगतमा भन्दा अझै धेरै सावधानी अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले धेरै देशमा संक्रमण फैलिएकाले जोखिम उच्च भएको बताए ।
‘हिजोको सावधानीले नपुग्ने अवस्थामा पुगेका छौ । हिजो चीनमा मात्रै जोखिम हुँदा जति थियो, यो रोग अमेरिकालगायत अन्य देशहरुमा फैलिएको सन्त्रासबाट दक्षिण कोरिया, जापान, इरान, अरब लगायतका मुलुकहरुको फैलावटले चाहिँ संक्रमणको जोखिमलाई अझै उच्च विन्दुमा पुर्याएको छ’ उनले भने ।
भारतमा केही दिनयता संक्रमितको संख्या बढेकाले त्यहाँ आउजाउमा सतर्कता अपनाउनुपर्ने मन्त्री ढकालले बताए । त्यसका लागि भन्सार नाकाबाहेक ३७ वटा स्थानमा चेकजाँच गर्नुपर्छ भन्ने निश्कर्षमा सरकार पुगेको उनले जानकारी गराए ।
तपाइँको प्रतिक्रिया