शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ : कांग्रेस नेता पौडेल

दमौली – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दा शिक्षा क्षेत्र धरासायी बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका छात्रछात्रालाई झोला वितरण गर्दै केन्द्रीय सदस्य पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए ।
उनले भने, “पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीति हाबी भइरहेको छ, यसलाई रोक्नुपर्छ ।”नेता पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै शिक्षक र अभिभावकको चासोले शिक्षा क्षेत्रमा सुधार सम्भव रहेको बताए । उनले उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा पौडेलले विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई झोला वितरण गरेका थिए ।रासस
तपाइँको प्रतिक्रिया