थाईल्याण्डद्वारा नेपाललाई ६७ रनको सामान्य लक्ष्य

चितवन – एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा थाईल्याण्डले नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको थाईल्याण्ड २० ओभरमा ६६ रन बनाएर अल आउट भयो ।
नेपालले टि ट्वान्टी आईमा विपक्षीलाई रोकेको इतिहासकै कम योगफलमा रोकेको छ । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा हङकङलाई ६९ रनमा अल आउट गरेको थियो ।
नेपाली बलरले थाईल्याण्डका ब्याट्सम्यानहरुलाई शुरु देखी नै निकै दबाबमा राखेका थिए । नेपालको कसिलो बलिङ सामु थाईल्याण्डका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । थाईल्याण्डले अन्तिम ओभरमा ११ रन बनाएको थियो ।
थाईल्याण्डका फिरियापोङ सुवान्चुइ र हेनो जोर्डन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । दुबैले समान १३-१३ रन जोडे । जोर्डनले २९ बलमा एक छक्का तथा फिरियापोङले १६ बलमा समान एक छक्का नै प्रहार गरे ।
नेपालका लागि करण केसीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चिदै २ विकेट, सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चिदै १ विकेट त्यहाँ टि ट्वान्टी आईमा डेब्यू गरेका भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चेर १ विकेट लिए ।
तपाइँको प्रतिक्रिया