रंगशाला निर्माण सहयोगार्थ जारी क्रिकेट भरतपुर ७ र १० को बिजयी सुरुवात

चितवन – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी ‘खुल्ला तथा वडास्तरिय प्रथम गौतमबुद्ध कप टी-२० क्रिकेट प्रतियोगितामा भरतपुर ७ र १० ले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिता अन्तर्गत आज (मंगलबार) सम्पन्न खेलमा भरतपुर ७ ले २ र १० ले २१ लाई स्तब्ध पार्दै बिजयी सुरुवात गरेका हुन् ।
चितवनको रामपुरमा निर्माणाधिन रंगशालाको नमुना मैदानमा भएको खेलमा भरतपुर ७ ले २ लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । भरतपुर २ ले दिएको १०५ रनको सामान्य लक्ष्य भरतपुर ७ ले जम्मा ३ विकेट गुमाउदै पुरा गर्यो । उसको जितमा आशिष अधिकारीले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले केबल ३० बलमा उक्त ५० रन बनाए ।
त्यस अघी पहिलो ब्याटिङ गरेको भरतपुर दुई १५ ओभरमा १०४ रनमा अल आउट भएको थियो । उसका लागि बिदुरले १५ बलमा आक्रमक ब्याटिङ गर्दै ३३ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । भरतपुर ७ का सतिशले ४ विकेट लिए ।
आजै सम्पन्न अर्को खेलमा भरतपुर १० ले भरतपुर २१ लाई ५१ रनले पराजित गर्यो ।भरतपुर १० ले दिएको १४७ रनको लक्ष्य पछ्याएको भरतपुर २१ ले १७ ओभरमा ९५ रन बनाउदै सबै विकेट गुमायो । उसलाई सस्तैमा समेट्न कृजन गुरुङले २ विकेट लिए ।
त्यस अघी पहिलो ब्याटिङ गरेको भरतपुर १० ले २० ओभरमा १४६ रन बनाएको थियो । उसका लागि कृजन गुरुङले २० बलमा ३३ रनको महत्वपूर्ण पारी खेले ।
तपाइँको प्रतिक्रिया