कोरोना त्रास : मेला महोत्सव आयोजना नगर्न चितवन प्रशासनको आग्रह

चितवन – नेपालमा कोरोना भाइरसको त्रास फैलिएपछी चितवन प्रशासनले जिल्लामा कुनै पनि मेला महोत्सव आयोजना नगर्न आग्रह गरेको छ । आज (मंगलबार) एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा कुनै पनि जात्रा, पर्व, मेला मेहोत्सव र अन्य कुनै पनि कार्यक्रम नगर्न नगराउन आग्रह गरेको हो ।
चीनबाट शुरु भई विश्वका बिभिन्न देशहरुमा चुनौतीको रुपमा फैलिदै गएको कोरोना भाइरसको सँक्रमणबाट सुरक्षित रहन प्रशासनले स-साना पारिवारीक भेटघाट बाहेक ठुला कार्यक्रमहरु आयोजना नगर्न आग्रह गरेको हो । प्रशासनले सुचना बिपरित त्यस्ता कार्यक्रमहरु गरे गराएको पाईएमा कानुन बमोजिम कारबाही गर्ने बताएको छ । यस्तै प्रशासनले त्यस्ता कार्यक्रमहरुमा सहभागी नहुन आम नागरिकलाई अनुरोध पनि गरेको छ ।
हाल भईरहेको मेला महोत्सवहरुलाई पनि बुधवारबाट रोक्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले एटुजेड समाचारलाई जानकारी दिए । हाल जारी महोत्सव रोक्नका लागि आज सम्बन्धित आयोजकसँग छलफल गरिएको उनले बताए । ‘हाल चितवनमा भईरहेको महोत्सवको आयोजकहरुसँग आज छलफल गरेर रोक्न आग्रह गरेका छौ उनले भने,’ आज कलाकारहरु बोलाईसकेको भएर उहाँहरुले रोक्न सक्नु भएन, भोलीबाट रोक्नु हुन्छ ।’ हाल भरतपुरको केन्द्रीय बस टर्मिनलमा प्रथम भरतपुर साँस्कृतिक महोत्सव र पश्चिम चितवनको मेघौलीमा पाँचौ मेघौली पर्यटन महोत्सव भईरहेको छ ।
तपाइँको प्रतिक्रिया